काठमाडौं, ८ साउन । नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) तथा अवैधानिक वित्तीय कारोबारमा प्रयोग भइरहेका २ लाख २३ हजार ५६८ वटा वेबसाइट र मोबाइल एप बन्द गरिएको जनाएको छ।
सरकारले गत चैत १३ गते जारी गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूची अन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई बेटिङ तथा स्क्यामिङसँग सम्बन्धित वेबसाइट र एप २४ घण्टाभित्र बन्द गर्ने जिम्मेवारी दिएको थियो। सोही निर्णयअनुसार प्राधिकरणले निगरानी र अवरोधको काम तीव्र बनाएको हो।
प्राधिकरणका अनुसार यस वर्षको फिफा विश्वकप सुरु भएयता मात्रै २ लाखभन्दा बढी शंकास्पद वेबसाइट तथा एप बन्द गरिएका छन्। विश्वकपका बेला अनलाइन बेटिङ बढ्न सक्ने आकलनपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले समेत यसलाई उच्च प्राथमिकतामा राखेको थियो।
यस अभियानका लागि प्राधिकरणले इन्टरनेट सेवा प्रदायक (आईएसपी) सँग समन्वय गरी शंकास्पद वेबसाइटका यूआरएल तत्काल ब्लक गर्ने व्यवस्था मिलाएको जनाएको छ।
प्राधिकरणका सहायक निर्देशक तथा इन्जिनियर ओमप्रकाश महतोका अनुसार एउटा वेबसाइट बन्द गरेपछि नयाँ नाम र ठेगानामा अर्को वेबसाइट सञ्चालनमा आउने भएकाले निगरानी निरन्तर जारी राख्नुपर्ने चुनौती रहेको छ।
उहाँका अनुसार ‘थ्रेट इन्टेलिजेन्स’ प्रविधिको प्रयोग गरी नयाँ वेबसाइट पहिचान गर्ने र अवरुद्ध गर्ने कार्य निरन्तर भइरहेको छ।







प्रतिक्रिया