कक्रोचको आन्दोलनलाई अन्ना हजारेको पनि समर्थन, गरे मौन बिरोध

नयाँदिल्ली, ७ साउन । सामाजिक अभियन्ता अन्ना हजारेले विद्यार्थीहरूको प्रदर्शनको समर्थनमा आज महाराष्ट्रको अहिल्यानगरमा मौन विरोध प्रदर्शन सुरु गर्नुभएको छ ।

दिल्लीमा आन्दोलनरत विद्यार्थीहरूप्रति ऐक्यबद्धता जनाउन सामाजिक अभियन्ता अन्ना हजारेले आज महाराष्ट्रको अहिल्या नगरमा दुई घण्टा लामो ‘मौन आन्दोलन’ गर्नुभएको हो । ‘अन्नाले बिहान ११ बजे आफ्नो आन्दोलन सुरु गरे र दिउँसो १ बजे त्यसलाई टुङ्ग्याए,’ अन्नाकासामाजिक अभियन्ताका सहयोगी दत्ता अवारीले जानकारी दिँदै भन्नुभयो ।

अहिल्या नगरस्थित महात्मा गान्धीको प्रतिमा स्थलमा आन्दोलन गरेका हजारे त्यसपछि सोही जिल्लामा पर्ने आफ्नो गाउँ रालेगन सिद्धि फर्किनुभएको छ । मौन ब्रत सुरू गर्नु अघि अन्ना हजारेले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र पनि लेख्नुभएको थियो ।

प्रधानमन्त्री सर्वोच्च नेता भएकाले जनताका प्रश्नहरू मोदीसम्म पुर्याउनु आवश्यक रहेको उहाँको भनाइ छ । कक्रोच जनता पार्टी ले दिल्लीको जन्तर मन्तरमा आफ्नो विरोध प्रदर्शन जारी राखेका छन् । आज बिहानैदेखि त्यहाँ हजारौं मानिसहरू भेला भइरहेका छन् ।

पार्टी प्रमुख अभिजित दीपकेले भाजपाद्वारा पठाइएका गुण्डाहरू प्रदर्शनकारीहरूको बीचमा पसेर ढुङ्गामुढा गरिरहेको आरोप लगाएका छन् । यसैबिच, ककरोच जनता पार्टीको विरोध प्रदर्शनसम्बन्धी मुद्दामा शुक्रबार दिल्ली उच्च अदालतमा सुनुवाइ हुने भएको छ ।

प्रदर्शनकारीहरूले दिल्लीलाई बन्धक बनाएको आरोप लगाउँदै एक जनहित याचिका दायर गरिएको छ । यसका कारण धेरै सडकहरू बन्द छन् र सर्वसाधारणले निकै सास्ती भोगिरहेका छन् ।

प्रकाशित मिति: ७ श्रावण २०८३, बिहिबार  १८ : १३  बजे