उपत्यकामा २४ घण्टामा १६९ शंकास्पद व्यक्ति पक्राउ, ४०० भन्दा बढी चालक कारबाहीमा

काठमाडौं, ७ साउन । काठमाडौं उपत्यकामा प्रहरीले पछिल्लो २४ घण्टामा शंकास्पद गतिविधिमा संलग्न रहेको आशंकामा १६९ जनालाई नियन्त्रणमा लिएको छ।

काठमाडौं उपत्यका प्रहरी कार्यालयका अनुसार पक्राउ परेकामध्ये काठमाडौंबाट १५६, ललितपुरबाट ११ र भक्तपुरबाट २ जना रहेका छन्। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यसै अवधिमा विभिन्न मुद्दाका २६ जना फरार प्रतिवादी पनि पक्राउ परेका छन्।

यता, उपत्यका ट्राफिक प्रहरीले २४ घण्टामा ४०० भन्दा बढी चालकलाई कारबाही गरेको छ। तीव्र गतिमा सवारी चलाउने १०० जना, सडक तथा फुटपाथमा पार्किङ गर्ने ६९ जना, रातो बत्ती उल्लंघन गर्ने ५६ जना, मादक पदार्थ सेवन गरेर सवारी चलाउने ५२ जना, अनावश्यक हर्न बजाउने ४४ जना, मापदण्डविपरीत सवारी चलाउने ५० जना तथा जथाभावी यात्रु चढाउने–ओराल्ने ३५ जना चालक कारबाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ।

प्रकाशित मिति: ७ श्रावण २०८३, बिहिबार  ०८ : २९  बजे