धनगढी, ७ साउन । वरिष्ठ चिकित्सक तथा चिकित्सा शिक्षा सुधार अभियन्ता प्रा. डा. गोविन्द केसी २४औँ सत्याग्रहका लागि धनगढी पुग्नुभएको छ। उहाँले धनगढी उपमहानगरपालिका–१ स्थित श्रीकृष्ण मन्दिर धर्मशालाबाट बिहीबारदेखि पाँचबुँदे मागसहित अनशन सुरु गर्ने घोषणा गर्नुभएको हो।
दार्चुलाबाट जारी विज्ञप्तिमा सरकारले आफूले उठाएका मागप्रति बेवास्ता गरेको र दिएको समयसीमाभित्र कुनै पहल नगरेपछि पुनः सत्याग्रहमा बस्न बाध्य भएको उल्लेख गरिएको छ। आन्दोलनबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सरकारले लिनुपर्ने चेतावनी पनि उहाँले दिनुभएको छ।
डा. केसीले राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को प्रभावकारी कार्यान्वयन, चिकित्सा शिक्षा पूर्ण रूपमा गैरनाफामूलक बनाउने व्यवस्था, निजी मेडिकल कलेजमा सिट वृद्धि र छात्रवृत्ति कटौतीसम्बन्धी निर्णय खारेज, शहीद दशरथ चन्द मेडिकल विश्वविद्यालय तथा चिकित्सा शिक्षा आयोगमा भएका विवादित नियुक्ति बदर गर्न माग गर्नुभएको छ।
त्यसैगरी, सुदूरपश्चिमलगायत सीमावर्ती क्षेत्रमा स्वास्थ्य, शिक्षा, यातायात र रोजगारीका पूर्वाधार विस्तार तथा हत्या, आगजनी, लुटपाट र भ्रष्टाचारका घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न पनि उहाँले सरकारसँग माग गर्नुभएको छ।
डा. केसीले विगतका सहमति कार्यान्वयन नभएको आरोप लगाउँदै आफ्ना माग पूरा नभएसम्म सत्याग्रह जारी रहने स्पष्ट पार्नुभएको छ।







प्रतिक्रिया