हिरासतबाट छुटाइदिने भन्दै ९ लाख ठगी : पूर्व एसएसपीसहित तीन जना पक्राउ

काठमाडौं, ६ साउन । अध्यागमन विभागको हिरासतमा रहेका चिनियाँ नागरिकलाई छुटाइदिने भन्दै ९ लाख रुपैयाँ ठगी गरेको आरोपमा सशस्त्र प्रहरीका पूर्व एसएसपीसहित तीन जना पक्राउ परेका छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार पक्राउ पर्नेमा उदयपुरका विक्रमबहादुर थापा, नवलपरासी पश्चिमका गोपालकुमार गुरुङ र सर्लाहीका नारदप्रसाद खतिवडा हुनुहुन्छ। पक्राउ परेका गुरुङ सशस्त्र प्रहरीका पूर्व एसएसपी तथा खतिवडा हास्यव्यंग्य कलाकार हुनुहुन्छ।

प्रहरीका अनुसार असार १२ गते ललितपुरको सानेपाबाट शंकास्पद गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका ९ चिनियाँ नागरिकलाई हिरासतबाट छुटाइदिने आश्वासन दिँदै उनीहरूले पीडित पक्षसँग रकम असुलेका थिए।

सुरुआतमा ७२ लाख रुपैयाँ लिएर चिनियाँ नागरिकलाई छुटाइदिने र १५ वटा राहदानीसमेत मिलाइदिने आश्वासन दिइएको थियो। पछि रकममा सहमति गर्दै ९ लाख रुपैयाँ लिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धानका लागि पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।

प्रकाशित मिति: ६ श्रावण २०८३, बुधबार  १५ : ००  बजे