काठमाडौं, ६ साउन । सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ सेराघारीमा यात्रुवाहक फोर्स गाडी दुर्घटना हुँदा १९ जना घाइते हुनुभएको छ। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
सिम्ताबाट गुमीतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख ०४९० नम्बरको फोर्स गाडी अनियन्त्रित भई सडकमै पल्टिएको हो। गाडी गुर्भाकोट–१३ निवासी गगन थापाले चलाइरहनुभएको थियो। दुर्घटनाका बेला चालकसहित २० जना सवार रहेकामा चालक सुरक्षित रहनुभएको छ भने अन्य १९ जना घाइते हुनुभएको हो।
दुर्घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा घाइतेहरूको उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेकाले विशेष निगरानीमा उपचार भइरहेको छ भने अन्य घाइतेहरूको अवस्था सामान्य रहेको बताइएको छ।
प्रहरीले दुर्घटनाग्रस्त गाडीलाई घटनास्थलमै राखी आवश्यक प्रक्रिया अघि बढाएको छ। चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।







प्रतिक्रिया