ठगी र चेक बाउन्स विवादमा सांसद आशिका तामाङको नाम जोडियो

काठमाडौं, साउन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङको नाम करोडौँ रुपैयाँको लेनदेन तथा ठगीसम्बन्धी विवादमा जोडिएको छ। अमेरिकामा रहेकी कुष्मा बुढाथोकी र झापाका जीवनप्रसाद बाँस्कोटाबीचको आर्थिक कारोबारसम्बन्धी विवादमा सांसद तामाङको नाम उल्लेख भएपछि प्रहरीले प्रारम्भिक अनुसन्धान सुरु गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पीडित पक्षले दिएको निवेदनका आधारमा आवश्यक विवरण संकलन र सम्बन्धित बैंकहरूमा पत्राचार गरिएको छ। प्रहरीका प्रवक्ता पवन भट्टराईले हालसम्म चेक बाउन्ससम्बन्धी औपचारिक मुद्दा दर्ता नभएको, तर प्राप्त उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको जानकारी दिनुभयो।

राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले प्रहरीमा जाहेरी दर्ता नभएपछि केही व्यक्तिले आयोगमा उजुरी दिएको पुष्टि गर्दै घटनाको सत्यतथ्य बुझ्ने प्रक्रिया जारी रहेको बताउनुभयो।

पीडित पक्षले क्यान्सर उपचारका लागि उठाइएको रकमको विषयमा विश्वासको दुरुपयोग गर्दै करोडौँ रुपैयाँ ठगी गरिएको, फर्जी चेक प्रयोग गरी ब्ल्याकमेल गरिएको तथा परिवारलाई कानुनी समस्यामा पार्ने प्रयास भएको आरोप लगाएको छ।

यता सांसद आशिका तामाङले भने आफू पनि पीडित रहेको दाबी गर्नुभएको छ। उहाँका अनुसार अमेरिकामा रहेकी कुष्मा बुढाथोकीले आफ्ना श्रीमान् थोमससँग विवाह गर्ने आश्वासन दिएर करिब १ करोड ३५ लाख रुपैयाँ लिएको र उक्त रकम फिर्ता नगरेपछि कानुनी प्रक्रियामा जानुपरेको हो।

त्यसैगरी जीवनप्रसाद बाँस्कोटाले पनि कुष्मा बुढाथोकीले विभिन्न बहानामा आफूबाट करिब २ करोड ९२ लाख रुपैयाँ लिएको दाबी गर्दै चेक बाउन्स भएपछि कानुनी उपचार खोजिएको बताउनुभएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख दिलीप घिमिरेले एउटै घटनामा दुवै पक्षले आफूलाई पीडित दाबी गरेको अवस्था रहेकाले वास्तविक तथ्य स्थापित भएपछि मात्रै कानुनी प्रक्रिया अगाडि बढाइने स्पष्ट पार्नुभएको छ।

प्रहरीले घटनासम्बन्धी सबै पक्षबाट प्रमाण संकलन गरी अनुसन्धान जारी रहेको जनाएको छ।

प्रकाशित मिति: ५ श्रावण २०८३, मंगलबार  ०६ : ४७  बजे