भक्तपुरमा १०० शय्याको अत्याधुनिक अस्पताल निर्माण सुरु, २५० करोड लगानी हुने

काठमाडौं, ३ साउन । भक्तपुरको मध्यपुर थिमी–३, गठ्ठाघरस्थित नागरिक कम्युनिटी टिचिङ हस्पिटलले आफ्नै ७ रोपनी जग्गामा हेलिप्याडसहितको ११ तले अत्याधुनिक अस्पताल भवन निर्माण सुरु गरेको छ। अस्पतालले एक वर्षभित्र नयाँ भवनबाट सेवा सञ्चालन गर्ने लक्ष्य लिएको जनाएको छ।

अस्पतालका अध्यक्ष आरएस भण्डारीका अनुसार पहिलो चरणमा भवन निर्माणका लागि करिब १०० करोड रुपैयाँ लगानी गरिनेछ भने पूर्वाधार विस्तार र सेवा प्रवर्द्धनसहित दुई चरणमा कुल करिब २५० करोड रुपैयाँ लगानी हुने योजना रहेको छ।

हाल १०० शय्याको क्षमतामा निर्माण भइरहेको अस्पताललाई आगामी तीन वर्षभित्र २०० शय्यामा विस्तार गर्ने लक्ष्य राखिएको छ। नयाँ भवन सञ्चालनमा आएपछि प्रारम्भिक चरणमै करिब ५०० जनाले रोजगारी पाउने र पूर्ण विस्तारपछि १ हजार २०० जनासम्मलाई प्रत्यक्ष रोजगारी उपलब्ध हुने अस्पतालको दाबी छ।

अस्पतालले मुटुरोग उपचारका लागि क्याथल्याब, ट्रमा सेवा, एनआईसीयू, डायलाइसिस, एमआरआई, सिटी स्क्यान, आईसीयू, अत्याधुनिक शल्यक्रिया कक्ष तथा विभिन्न विशेषज्ञ स्वास्थ्य सेवाहरू सञ्चालन गर्ने जनाएको छ।

हाल भाडाको भवनबाट सेवा दिँदै आएको नागरिक कम्युनिटी टिचिङ हस्पिटल १८ वर्षअघि ‘मुनाल क्लिनिक’का रूपमा स्थापना भएको थियो। अहिले ह्याम्स समूहको व्यवस्थापनमा सञ्चालन भइरहेको अस्पतालले नयाँ भवन निर्माणसँगै भक्तपुर र आसपासका जिल्लाका नागरिकलाई गुणस्तरीय तथा आधुनिक स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्य लिएको जनाएको छ।

प्रकाशित मिति: ३ श्रावण २०८३, आइतबार  २० : ०५  बजे