प्रधानमन्त्री पछि अब जेलेन्स्कीले गरे रक्षामन्त्रीलाई पदमुक्त

किभ, ३२ असार । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रक्षामन्त्री मिखाइलो फेडोरोभलाई नियुक्ति गरेको ६ महिनामै पदबाट हटाउनुभएको छ । यस निर्णयलगत्तै आज देशका विभिन्न सहरमा विरोध प्रदर्शनहरू भएका छन्, युद्ध सुरु भएयता भएका यस्ता प्रदर्शनहरूमध्ये यी पहिलो घटना हो ।

राजधानी किभमा ठूलो संख्यामा प्रदर्शनकारीहरू सडकमा उत्रिए । ओडेसा, ल्भिभ र रुसको निरन्तर आक्रमणको सामना गरिरहेको सहर खार्किभमा पनि प्रदर्शनहरू भए। खार्किभमा ३०० भन्दा बढी मानिसहरू प्लेकार्ड बोकेर तथा ‘धिक्कार छ, धिक्कार छ’ भन्दै नारा लगाउँदै सडकमा उत्रिए ।

३५ वर्षीय फेडोरोभलाई युक्रेनको ड्रोन युद्ध कार्यक्रमको सबैभन्दा प्रमुख अनुहार मानिन्थ्यो । उहाँ ड्रोन र रोबोटको प्रयोग गरी युद्ध लड्ने रणनीतिका मुख्य पक्षधरका रूपमा चिनिनुहुन्थ्यो । उहाँको बहिर्गमनले रुसजस्तो विशाल सैन्य शक्ति विरुद्धको लडाइँमा नयाँ प्रविधि र ड्रोनमा आधारित युक्रेनको रणनीति पहिलेकै गतिमा अघि बढ्ला वा नबढ्ला भन्ने प्रश्न खडा गरेको छ ।

फेदोरोभलाई पदबाट हटाउने निर्णय जेलेन्स्की सरकारमा गरिएको व्यापक हेरफेरको एक हिस्सा हो । यस हेरफेरमा प्रधानमन्त्रीलाई पनि पदबाट हटाइएको छ । रक्षा मन्त्री बन्नु अघि फेदोरोभले युक्रेनको डिजिटल रूपान्तरण (ई–गभर्नेन्स) मन्त्रीका रूपमा काम गर्नुभएको थियो ।

उहाँ कैयौं वर्षसम्म जेलेन्स्कीका सबैभन्दा विश्वासिला प्रविधि सल्लाहकारसमेत रहनुभएको थियो । जनवरीमा रक्षा मन्त्रीको जिम्मेवारी सम्हाले पछि उहाँले सेनाभित्र नयाँ प्रविधि, ड्रोन र रोबोटको प्रयोगलाई तीव्र रूपमा विस्तार गर्नुभएको थियो ।

यस अवधिमा, युक्रेनका लामो समयदेखि चलिरहेका कयौं ड्रोन परियोजनाहरूले सफल नतिजा दिन थालेको थियो । युक्रेनले रुसी भू–भागभित्र सयौं किलोमिटरको दूरीसम्म पुग्ने गरी निरन्तर ड्रोन आक्रमणहरू गर्यो र कब्जा गरिएको क्रिमियामा रहेका रुसी सैन्य आपूर्ति मार्ग तथा आधारहरूलाई निशाना बनायो ।

यी सफलताहरूले युक्रेनका जनतामा नयाँ प्रविधि प्रयोग गरेर रुसको सामना गर्न सकिन्छ भन्ने आत्मविश्वास बढायो । धेरै रिपोर्टहरूका अनुसार, रक्षामन्त्री फेडोरोभलाई हटाउनुको कारण भ्रष्टाचार वा असफलता थिएन, बरु शीर्ष सेनाका जनरलहरू र कमाण्डर इन चीफ ओलेक्जेन्डर सिरस्कीसँगको गहिरो असहमति थियो ।

फेडोरोभ जनवरीमा रक्षामन्त्री बने पछि लगभग तुरुन्तै उहाँहरूसँग झगडा गर्न थाल्नुभयो । उहाँको विश्वास थियो कि भविष्यको युद्ध ड्रोन, रोबोट र नयाँ प्रविधि प्रयोग गरेर लडिनेछ । यद्यपि, सिर्स्कीले यो दृष्टिकोण पूर्णतया व्यावहारिक नभएको तर्क गरेका छन ।

उहाँको विश्वास थियो कि युद्ध जित्न अझै पनि सिपाहीहरूले अग्रपंक्तिमा लड्नु आवश्यक छ, युद्ध ड्रोनले मात्र जित्न सकिँदैन। जसका कारण दुई बीचको सञ्चार पनि बन्द भएको थियो । कमाण्ड संरचना भित्रको यो झडप समाधान गर्न राष्ट्रपति जेलेन्स्कीले सेनाका जनरलहरूको पक्ष लिए र फेडोरोभलाई हटाउने निर्णय गरेको हो ।

प्रकाशित मिति: ३२ असार २०८३, बिहिबार  १९ : ०९  बजे