इजरायलले दिइने ३.३ अर्ब डलर रोक्न अमेरिकी संसदमा मतदान हुदैँ

वासिंगटन डिसी, ३२ असार । इजरायललाई दिइने सैन्य सहायता रोक्ने प्रस्तावसहितको एउटा विधेयक अमेरिकी कंग्रेसमा पेस गरिएको छ । यस विधेयकले इजरायललाई वार्षिक रूपमा प्रदान गरिँदै आएको ३.३ अर्ब अमेरिकी डलर बराबरको सैन्य सहायता रोक्न माग गरेको छ ।

अमेरिकाकी एकमात्र मुस्लिम कंग्रेस सदस्य इल्हान ओमरले इजरायललाई दिइने करिब ३.३ अर्ब डलर बराबरको सैन्य सहायता रोक्ने प्रस्तावको पक्षमा मतदान गर्ने बताएकी छिन् । सामाजिक सञ्जाल एक्समा लेख्दै ओमरले भनिन्, ‘नरसंहारकारी र रंगभेदी शासनलाई हामीले निरन्तर आर्थिक सहयोग गरिरहनु अतार्किक कुरा हो । यसको पक्षमा मतदान गर्नुहोस् ।’

उल्लेखनीय छ कि अमेरिकी कंग्रेसमा भारतीय अमेरिकी सांसद रो खन्ना र डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीका सदस्य थोमस मासीद्वारा दुवै दलको समर्थन रहेको द्विदलीय विधेयक प्रस्तुत गरिएको छ । यस विधेयकको उद्देश्य इजरायलका लागि छुट्याइएको ३.३ अर्ब अमेरिकन डलर बराबरको सैन्य सहायता रोक्नु हो ।

संसदमा यो विधेयक पेस गरिए सँगै अमेरिकी राजनीतिमा हलचल मच्चिएको छ । कतिपय सांसदहरूले यसको समर्थन गरेका छन् भने अन्यले यसको विरोध गरेका छन् । यो प्रस्ताव अमेरिकी कंग्रेसमा देशका आगामी विदेशी गतिविधिहरू र विदेश मन्त्रालयको बजेटसम्बन्धी विधेयकको संशोधनका रूपमा पेस गरिएको हो ।

यस संशोधनको मुख्य उद्देश्य इजरायललाई दिइने करिब ३.३ अर्ब डलर बराबरको वार्षिक अमेरिकी सैन्य सहायता पूर्ण रूपमा रोक्नु हो । यसमा ‘आयरन डोम’जस्ता हवाई प्रतिरक्षा प्रणालीका लागि उपलब्ध गराइने रकम पनि समावेश छ । यो प्रस्ताव कुनै एक दलले नभई दुवै दलका सांसदहरूले संयुक्त रूपमा पेस गरेका हुन् ।

यसको मस्यौदा रिपब्लिकन थोमस मासी र डेमोक्र्याट रो खन्नाले तयार पारेका हुन् । भारतीय मूलका डेमोक्र्याट सांसद रो खन्नाले नागरिक अधिकार र युद्ध अपराधसम्बन्धी मुद्दाहरूमा आवाज उठाउँदै यस प्रस्तावको समर्थन गरेका छन् । जसलाई डेमोक्रेटिक पार्टीकी सांसद इल्हान ओमरले सामाजिक सञ्जाल एक्समार्फत उक्त प्रस्तावको पक्षमा मतदान गर्ने घोषणा गरिन् ।

इजरायललाई दिइने सैन्य सहायता रोक्नका लागि ल्याइएको यो प्रस्तावले संसद्मा डेमोक्रेटिक पार्टीलाई विभाजित गरेको छ । डेमोक्रेटिक नेता तथा तल्लो सदन मा विपक्षी दलका नेता हाकिम जेफ्रिजले यस प्रस्तावको विरोध गरेका छन् ।

उनको तर्क छ कि यो प्रस्ताव निकै व्यापक प्रकृतिको छ र यसले इजरायलको सुरक्षाका साथै गाजामा मानवीय सहायताको आपूर्ति र दूतावासहरूको कामकाजमा समेत असर पार्न सक्छ । जेफ्रिज स्वयं यसको विपक्षमा भए तापनि उनले आफ्ना दलका सांसदहरूलाई आफ्नो अन्तर्आत्माको आवाज अनुसार मतदान गर्ने अनुमति दिएका छन्, जसले गर्दा दलभित्रको आन्तरिक विभाजन छताछुल्ल भएको छ ।

इजरायललाई दिइने सैन्य सहायता रोक्ने सम्बन्धी यो संशोधन प्रस्तावमाथि अमेरिकी कंग्रेसमा जुलाई १५ मा मतदान हुने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: ३२ असार २०८३, बिहिबार  १३ : ४८  बजे