काठमाडौं, ३१ असार । सुकुम्वासी प्रकरणमा संघीय संसदमा रहेका चार प्रतिपक्ष दलका सांसदले जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन् ।
आज प्रतिनिधि सभा सचिवालयमा प्रतिपक्षी दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र श्रम संस्कृति पार्टीका सांसदले जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका हुन् । प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ७१ बमोजिम सङ्घीय संसद् सचिवालयमा २०८३ असार ३१ गते यो प्रस्ताव दर्ता गरिएको हो ।
कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे प्रस्तावक रहेको प्रस्तावमा एमालेका प्रमुख सचेतक ऐनबहादुर महर, नेकपाका सचेतक युवराज दुलाल र श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईको समर्थन रहेको छ ।
जरूरी सार्बजनिक प्रस्तावमा नेपालको संविधानले प्रत्याभूत गरेको सम्मानपूर्वक बाँच्न पाउने हक, उपयुक्त आवासको हक र सुकुम्वासी तथा भूमिहीन दलितको मौलिक हक कार्यान्वयन गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराइएको छ ।
यससँगै गत वैशाखमा सरकारले काठमाडौँ उपत्यकासहित देशका विभिन्न नदी किनारका सुकुम्वासी बस्तीमा ठोस पुनर्स्थापना योजनाबिना डोजर चलाएर नागरिकलाई विस्थापित गरेको भन्दै ५ वटा विषयमा छलफल गर्न माग गरिएको छ ।







प्रतिक्रिया