बुटवलमा ६ लाख बढी नक्कली नोटसहित ६ जना पक्राउ, नोट छाप्ने उपकरण बरामद

बुटवल, ३१ असार । बुटवल उपमहानगरपालिका–६, नेपालगन्ज रोडस्थित एक पसलमा छापा मारी प्रहरीले ६ लाख २२ हजार रुपैयाँ बराबरको नक्कली नेपाली नोट र नोट छाप्न प्रयोग हुने आधुनिक उपकरणहरूसहित ६ जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार पक्राउ पर्नेमा बुटवल–११ का ३६ वर्षीया गंगाकुमारी पूर्वछाने, पोखरा–१ का किरणकृष्ण तिवारी, कपिलवस्तुका सञ्जय थारू, भक्तपुरका ४१ वर्षीय रामचन्द्र खत्री, दोलखाका ३८ वर्षीय पासाङ तामाङ र भारतको पश्चिम बंगाल, सिलिगुडीका ४९ वर्षीय वासुमित्र आनन्द रहेका छन् ।

विशेष सूचनाका आधारमा प्रहरीले अभियुक्तहरूको घर तथा कोठामा गरेको खानतलासीका क्रममा १ हजार दरका ६२२ थान नक्कली नोट फेला पारेको हो ।

साथै, गिरोहले प्रयोग गर्दै आएको फोटोकपी मेसिन, डेल कम्पनीको ल्यापटप, प्रिन्टर, नक्कली नोट छाप्न प्रयोग गरिने एक कार्टुन कागज, लेमिनेसन मेसिन, विभिन्न रासायनिक पदार्थ, प्लास्टिक पेपर र नोट काट्ने मेसिनसमेत प्रहरीले बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी निशान्त श्रीवस्तवका अनुसार पक्राउ परेका सबै छ जनामाथि मुद्रासम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरी घटनाको थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

प्रकाशित मिति: ३१ असार २०८३, बुधबार  १६ : १८  बजे