काठमाडौं, ३१ असार । फिफा विश्वकप चलिरहँदा अर्को एउटा दुःखद खबर सार्वजनिक भएको छ । केही दिन अघि मात्र दक्षिण अफ्रिकाका एक २५ वर्षीय फुटबल खेलाडीको निधन भएको थियो अब भने ३८ वर्षीय रेफ्री रोब डिपरिंकको निधनले खेलकुद जगतलाई स्तब्ध बनाएको छ ।
डिपरिंक विश्वकपको ‘भिडियो असिस्टेन्ट रेफ्री’ टोलीमा समावेश हुने तय थियो । तर, प्रतियोगिता सुरु हुनुभन्दा एक महिनाअघि उनीमाथि एक नाबालिगलाई यौन दुर्व्यवहार गरेको आरोप लाग्यो, जसका कारण उनलाई टोलीबाट हटाइयो। पर्याप्त प्रमाणको अभावमा अन्ततः उक्त मुद्दा बन्द गरियो ।
३८ वर्षको उमेरमा रोब डिपरिंकको निधनले ठूलो स्तब्धता छाएको छ । उनी विश्वकपमा भिडियो असिस्टेन्ट रेफ्रीको भूमिका निर्वाह गर्ने तयारीमा थिए तर नाबालिगसँग सम्बन्धित यौन दुर्व्यवहारको आरोप सार्वजनिक भए पछि परिस्थिति बदलियो । रोब डिपरिंकको मृत्युको कारण अझै सार्वजनिक गरिएको छैन ।
नेदरल्यान्ड्स फुटबल संघले उनको निधनको घोषणा गर्दै भन्यो, ‘रोब डिपरिंकको मृत्युको खबरले हामी स्तब्ध र गहिरो शोकमा छौं । रोबको रूपमा हामीले एक अत्यन्त सम्मानित रेफ्री मात्र होइन, एक दयालु र समर्पित सहकर्मी पनि गुमाएका छौं ।’
फुटबलको विश्वव्यापी नियामक निकाय फिफाले पनि रब डिपरिंकको निधनप्रति समवेदना व्यक्त गरेको छ । फिफाले भनेको छ, ‘सम्पूर्ण फुटबल समुदायको तर्फबाट हामी उहाँका परिवार, साथीभाइ र डच फुटबल संघप्रति गहिरो समवेदना व्यक्त गर्दछौं । उहाँको आत्माले शान्ति पाओस् ।’
रोब डिपरिंक सन् २०१७ देखि नेदरल्यान्ड्समा रेफ्रीका रूपमा काम गर्दै आएका थिए। देशको शीर्ष फुटबल लिगमा रेफ्रीको भूमिका निर्वाह गरे पछि उनले सन् २०२४ को युरोपियन च्याम्पियनसिपमा भिडियो असिस्टेन्ट रेफ्रीका रूपमा काम गरे। सन् २०२६ को फिफा विश्वकपका लागि तयार पारिएको सूचीमा पनि उनको नाम समावेश गरिएको थियो ।
तर, उनलाई लन्डनमा प्रहरीले यौन दुर्व्यवहारको आरोपमा पक्राउ गरिदियो । जसका कारण उनी बिबादमा परेका थिए, जसका कारण फिफा विश्वकप २०२६ गुमाउनु परे पनि उनको रेफ्री गर्ने क्षमताको भने धेरैले तारिफ गरिरहेका छन् ।







प्रतिक्रिया