अन्तर्राष्ट्रिय पत्रकार महासंघको चेतावनी : नेपालमा मिडियाको मुख थुन्ने र स्वतन्त्र प्रेसमाथि अंकुश लगाउने प्रयास तत्काल बन्द गर

विश्वकै नजरमा नेपालको प्रेस स्वतन्त्रता : कानुनको आडमा मिडियालाई संकुचित पार्ने खेल भइरहेको छ, अन्तर्राष्ट्रिय समुदायको कडा आपत्ति

काठमाडौं, ३१ असार । इन्टरनेशनल युनियन अफ जर्नालिस्ट (IUJ) ले नेपालमा प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको अवस्था खस्कँदै गएको भन्दै चिन्ता व्यक्त गरेको छ । पछिल्लो समय काठमाडौंका विभिन्न मिडिया हाउसको गेटमा गाडी तेर्स्याएर आतंकित पारिएको घटनापछि संघले चासो देखाएको हो ।

संघद्वारा जारी विज्ञप्तिमा गर्दै जेन–जी आन्दोलनपछिको निर्वाचनबाट गठित वर्तमान सरकारका कदमहरूले सञ्चार क्षेत्रमा त्रास फैलाएको उल्लेख गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहको नेतृत्वमा सरकार गठन भएयता प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यतामाथि प्रहार हुने खालका घटनाक्रमहरू बढेको उल्लेख गरिएको छ ।

(IUJ) ले कान्तिपुर मिडिया ग्रुप, अनलाइनखबर र हिमालय टेलिभिजन जस्ता प्रमुख सञ्चार गृहहरूको प्रवेशद्वारमा अनधिकृत रूपमा अवरोध पुर्‍याइएको साथै, पत्रकार किशोर श्रेष्ठमाथि दिइएको धम्की र उनलाई हिरासतमा लिने प्रयासको पनि निन्दा गरेको छ ।

सरकारले निजी सञ्चार माध्यमहरूलाई सरकारी विज्ञापनबाट वञ्चित गर्ने नीति लिएको भन्दै विज्ञप्तिमा भनिएको छ, ‘यस्ता कार्यले स्वतन्त्र पत्रकारितालाई निरुत्साहित गर्ने र मिडिया बहुलवादलाई कमजोर बनाउने वातावरण सिर्जना गर्दछ ।’

यी र यस्तै घटनाले नेपालमा पत्रकार र सञ्चार संस्थाहरूमा (Self-censorship) को प्रवृत्ति बढ्दै गएको भन्दै (IUJ) ले चिन्ता व्यक्त गरेको छ । प्रतिशोध, डर र धम्कीका कारण पत्रकारहरूले समाचार सम्प्रेषणमा संकूचन ल्याउनु परेको र यसले नागरिकको सूचनाको हक र लोकतान्त्रिक सुशासनमा गम्भीर खतरा पैदा गरेको संघको ठहर छ ।

प्रकाशित मिति: ३१ असार २०८३, बुधबार  १४ : ४३  बजे