काठमाडौं, २६ असार । गत जुन महिना १२२ वर्षयताकै पाँचौं सबैभन्दा सुख्खाग्रस्त रहेको खुलासा भएको छ, गत महिनामा ४० प्रतिशत भन्दा कम बर्षा भएको छ । दक्षिण एसियाको मध्य भारतमा ५० प्रतिशतभन्दा बढी भू–भागमा खडेरी देखिएको छ ।
तथ्याङ्कहरूका अनुसार दक्षिण एसियमा ‘एल निनो’ले विनाश मच्चाउन थालेको सङ्केत गर्छन् । विश्व मौसम विज्ञान सङ्गठनको चेतावनी दिए पछि अहिले विश्वभर नयाँ बहस सुरू भएको छ । यद्यपि, यो विश्वव्यापी सङ्कटका बीच अमेरिकी वैज्ञानिकहरूले एउटा अनौठो योजना तयार पारेका छन् ।
‘साइन्स एडभान्सेज’ नामक जर्नलमा प्रकाशित युनिभर्सिटी अफ क्यालिफोर्निया र स्क्रिप्स इन्स्टिच्युसन अफ ओसनोग्राफीका वैज्ञानिक क्याथरिन रिकेको नयाँ अनुसन्धान अनुसार समुद्री पानीको फोहरा प्रयोग गरी महासागरमाथि रहेका बादलहरूलाई अझ चम्किलो बनाएर पृथ्वीमा आइपुग्ने सूर्यको प्रकाशलाई कम गर्न सकिन्छ ।
यसो गर्नाले ‘एल निनो’का कारण हुने अत्यधिक गर्मी र मौसमसम्बन्धी विनाशलाई रोक्न मद्दत पुग्न सक्छ । वैज्ञानिकहरूका अनुसार ‘मरिन क्लाउड ब्राइटेनिङ’ भनिने यो प्रविधिले तीव्र सूर्यको प्रकाशलाई अन्तरिक्ष तिरै फर्काउन सक्छ। यसले प्रशान्त महासागरको पानीलाई चिसो बनाउनेछ ।
फलस्वरूप ‘एल निनो’ले अत्यधिक शक्ति सञ्चय गर्न पाउने छैन र यसका प्रतिकूल असरहरूबाट बच्न सकिने सुझाव उनीहरूले जर्नलमा उल्लेख गरेका छन । सन् २०१९–२०२० मा अष्ट्रेलियाभरि भीषण डढेलो फैलियो । ती डढेलोबाट निस्किएको लाखौं टन धुवाँले वैज्ञानिकहरूलाई एउटा नयाँ उपायबारे सोच्न प्रेरित गर्यो ।
उक्त धुवाँले आकाशमा बाक्लो तह बनायो, जसले सूर्यको प्रकाशलाई छेकेर ‘ला निना’ अर्थात एल निनोको विपरीत चिसो अवस्थाजस्तै परिस्थिति सिर्जना गरेको थियो । यसै घटनाका आधारमा वैज्ञानिकहरूले एउटा कम्प्युटर मोडेल तयार पारे, उक्त मोडेलले पृथ्वीमा आइपुग्ने सूर्यको प्रकाशको मात्रालाई सीमित गरेर एल निनोको प्रभावलाई उल्लेख्य रूपमा कम गर्न सकिने कुरा देखायो ।
यो दृष्टिकोण जति आकर्षक सुनिन्छ, यसको कार्यान्वयन त्यति नै चुनौतीपूर्ण छ । टेक्सास ए एन्ड एम विश्वविद्यालयका प्राध्यापक एन्ड्र्यू डेस्लरका अनुसार मौसममा कृत्रिम हस्तक्षेप गर्नु खतरनाक हुन सक्छ । वैज्ञानिकहरूलाई यो प्रविधिमा कुनै गडबडी भएमा त्यसले गम्भीर राजनीतिक सङ्कट वा राष्ट्रहरू बीच युद्धसमेत निम्त्याउन सक्ने डर छ ।
साथै, अनुसन्धानकर्ताहरूका अनुसार यस अवधारणालाई वास्तविक धरातलमा प्रयोग गर्नुअघि अझै धेरै वर्षको अनुसन्धान र परीक्षण आवश्यक पर्छ । ‘एल निनो’ वास्तवमा ‘एल निनो साउदर्न ओसिलेशनं’ भनिने जलवायु प्रणालीको एक हिस्सा हो ।
यसका अन्य चरणहरूमा ‘ला निनो’ अर्थात जसले मौसमलाई चिसो बनाउँछ र तटस्थ चरण पर्दछन् । केही वर्षको अन्तरालमा प्रशान्त महासागरमा चल्ने हावाहरू कमजोर हुन्छन् । यसका कारण महासागरमा सञ्चित ताप दक्षिण अमेरिकाको तटतिर सर्छ ।
यस तापले सम्पूर्ण विश्वको वायुमण्डलीय प्रणालीलाई खलबल्याउँछ, जसका कारण कतिपय क्षेत्रमा भीषण खडेरी पर्छ भने अन्य क्षेत्रमा बाढी आउँछ । यसमा जीवाश्म इन्धनबाट हुने प्रदूषणको कारकलाई पनि जोड्दा ‘एल निनो’ ले विश्वलाई अर्बौं डलर बराबरको आर्थिक क्षति पुर्याउँछ ।







प्रतिक्रिया