१३ मिनेटमा ३ गोल, इजिप्टविरुद्ध अर्जेन्टिनाको अविश्वसनीय पुनरागमन

काठमाडौं, २४ असार। फिफा विश्वकप २०२६ अन्तर्गत प्रिक्वाटरफाइनलमा अर्जेन्टिनाले इजिप्टविरुद्ध अविश्वसनीय पुनरागमन गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरेको छ।

अमेरिकाको एटलान्टा स्टेडियममा मंगलबार राति भएको खेलमा ७८औँ मिनेटसम्म २–० ले पछि परेको अर्जेन्टिनाले अन्तिम १३ मिनेटमा लगातार तीन गोल गर्दै ३–२ को रोमाञ्चक जित निकालेको हो।

इजिप्टका यासेर इब्राहिमले १५औँ मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने ६७औँ मिनेटमा मोस्ताफा जिकोले दोस्रो गोल थप्दै इजिप्टलाई जितको नजिक पुर्‍याएका थिए।

तर त्यसपछि खेलको लय पूर्ण रूपमा अर्जेन्टिनातर्फ मोडियो। ७९औँ मिनेटमा क्रिस्टियन रोमेरोले गोल गर्दै अन्तर घटाए। त्यसको चार मिनेटपछि कप्तान लियोनल मेसीले बराबरी गोल गरे भने इन्जुरी समयको तेस्रो मिनेटमा एन्जो फर्नान्डेजले निर्णायक गोल गर्दै अर्जेन्टिनालाई सनसनीपूर्ण जित दिलाए।

यो जितसँगै साविक विजेता अर्जेन्टिनाले अन्तिम आठमा स्थान बनाएको छ। अब उसले सेमिफाइनल प्रवेशका लागि क्वार्टरफाइनलमा स्विट्जरल्यान्डको सामना गर्नेछ।

प्रकाशित मिति: २४ असार २०८३, बुधबार  ०९ : ३६  बजे