सर्लाही, १८ असार । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१६ टाँगियाबस्तीमा मोबाइल चोरी गरेको आरोप लगाउँदै चार जना बालबालिकालाई रुखमा बाँधेर कुटपिट गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार महिलालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बालबालिकालाई बरको रुखको फेदमा डोरीले बाँधेर निर्घात कुटपिट गरिएको थियो ।
घटनापछि प्रहरीको अनुसन्धानका क्रममा ६२ वर्षीया मिना रजन मगर, ३२ वर्षीया पवीकुमारी आले मगर, ३० वर्षीया रानीमाया मोत्तान र ४२ वर्षीया निर्मला वाइबालाई नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार घटना मङ्गलबारको हो ।
घटनाबारे जानकारी प्राप्त भएपछि प्रहरीले अनुसन्धान अघि बढाउँदै चारै जनालाई पक्राउ गरेको उहाँले बताउनुभयो । प्रहरीले पक्राउ परेका महिलाविरुद्ध बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी थप अनुसन्धान सुरु गरेको जनाएको छ । घटनाका सबै पक्षबारे प्रमाण संकलन भइरहेको र अनुसन्धानको निष्कर्षका आधारमा कानुनी प्रक्रिया अघि बढाइने प्रहरीको भनाइ छ ।
बालबालिकामाथि गरिएको यस्तो अमानवीय व्यवहारप्रति स्थानीयवासीले समेत गम्भीर चासो व्यक्त गरे । प्रहरीले कानुन हातमा लिएर कसैलाई पनि यस प्रकारको दुर्व्यवहार गर्न नपाइने भन्दै दोषीमाथि कानुनअनुसार कारबाही हुने जनाएको छ ।







प्रतिक्रिया