धोवीघाट र चोभारमा अध्यागमनको छापा, नौ चिनियाँ नागरिक पक्राउ

काठमाडौं, १७ असार । अध्यागमन विभागले काठमाडौं उपत्यकामा शंकास्पद गतिविधिमा संलग्न रहेको आशंकामा नौ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ। उनीहरूबाट १८ थान चिनियाँ राहदानी (पासपोर्ट) समेत जफत गरिएको विभागले जनाएको छ।

विभागका अनुसार ललितपुरको धोवीघाटबाट तीन जना र कीर्तिपुरको चोभारबाट छ जना चिनियाँ नागरिकलाई नियन्त्रणमा लिइएको हो। उनीहरूमाथि भिसाको उद्देश्यविपरीत गतिविधिमा संलग्न रहेको आशंकामा अनुसन्धान अघि बढाइएको छ।

धोवीघाटस्थित एक चारतले घरमा गरिएको अनुगमनका क्रममा २२ जना चिनियाँ नागरिक फेला परेका थिए। तीमध्ये चार जना व्यावसायिक भिसा र १८ जना पर्यटक भिसामा नेपालमा बसिरहेको पाइएको विभागले जनाएको छ। अनुसन्धानका लागि उनीहरूले प्रस्तुत गरेका १८ वटा राहदानी जफत गरिएको छ।

उक्त घर ड्रागन ब्रिज इन्टरनेशनल प्रालिले लिजमा लिएर सञ्चालन गरिरहेको खुलेको छ। तर, होस्टलका रूपमा प्रयोग भइरहेको भनिए पनि उद्योग दर्ता, स्थानीय तहमा व्यवसाय दर्ता, साइनबोर्ड वा विदेशी नागरिकको अभिलेखलगायत आवश्यक कानुनी कागजात फेला नपरेको विभागले जनाएको छ।

यसैबीच, कीर्तिपुर–६ चोभारस्थित ट्रेजर्स प्रालिमा गरिएको अनुगमनका क्रममा अत्यधिक सुरक्षा व्यवस्था, ठूलो संख्यामा सीसीटीभी, निजी सुरक्षा गार्ड तथा सर्वसाधारणलाई प्रवेश निषेध गरिएको अवस्था भेटिएको थियो। त्यहाँ करिब १८ जना चिनियाँ नागरिक कार्यरत रहेको र अधिकांश पर्यटक भिसामा रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

अनुगमनका क्रममा कर्मचारीको अभिलेख उपलब्ध नगराइएको, राहदानी देखाउन अस्वीकार गरिएको तथा कम्पनीको वास्तविक सञ्चालकबारे कर्मचारीहरू नै अनभिज्ञ रहेको विभागले जनाएको छ। साथै, निजी कम्पनीले प्रयोग गर्ने पास कार्डमा नेपालको राष्ट्रिय निशान छाप प्रयोग गरिएको समेत भेटिएको छ।

विभागका अनुसार झ्यालविहीन कोठामा लुकेर बसेका सात जना चिनियाँ नागरिकमध्ये पाँच जनालाई नियन्त्रणमा लिइएको छ भने दुई जना फरार छन्। प्रारम्भिक अनुसन्धानमा केही चिनियाँ नागरिक क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आशंका पनि गरिएको छ।

अनुसन्धानका क्रममा धोवीघाटस्थित आवास र चोभारस्थित कम्पनीबीच प्रत्यक्ष सम्बन्ध रहेको खुलेको विभागले जनाएको छ। अधिकांश चिनियाँ नागरिक धोवीघाटमा बसोबास गर्दै चोभारस्थित कम्पनीमा कार्यरत रहेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।

अध्यागमन विभागले दुवै घटनाबारे थप अनुसन्धान जारी रहेको जनाउँदै भिसाको उद्देश्यविपरीत गतिविधिमा संलग्न विदेशी नागरिक तथा सम्बन्धित व्यक्ति र संस्थामाथि प्रचलित कानुनअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ।

प्रकाशित मिति: १७ असार २०८३, बुधबार  २१ : ३६  बजे