चोरीमा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ

काठमाडौं, ६ साउन । सुन तथा चाँदीका गरगहना र स्कुटर चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई काठमाडौंको विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका–२ नारायणथान बस्ने मोरङ लेटाङ नगरपालिका–५ घर भएका २१ वर्षीय दिपेश लिम्बु, काठमाडौं महानगरपालिका–९ सिनामंगल बस्ने काभ्रेपलाञ्चोक रोशी गाउँपालिका–१ घर भएका १९ वर्षीय अमर भन्ने अर्मस लामा र ललितपुर महालक्ष्मी नगरपालिका-५ इमाडोल बस्ने सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–१ घर भएका ३० वर्षीय अजय लामा रहेका छन् ।

काठमाडौं महानगरपालिका–६ पशुपति मार्गस्थितबाट गत जेठ २९ गते सुनचाँदीका गरगहना र नगद तथा काठमाडौं महानगरपालिका–३ महाराजगंजस्थित कान्ति बाल अस्पतालको पार्किङबाट गत असार ३० गते स्कुटर चोरी भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि प्रहरी वृत्त बौद्ध पठाइएको छ ।

प्रकाशित मिति: ६ श्रावण २०८३, बुधबार  १६ : २३  बजे