इजिप्टमा अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच आज छलफलको तयारी

काठमाडौं, ६ असार । अमेरिका–इरान द्वन्द्व अन्त्यका लागि पहल गरेका मध्यस्थकर्ताहरू पाकिस्तान, साउदी अरब र टर्कीए आज इजिप्टमा छलफलका लागि भेला हुने भएका छन् । इजिप्ट र पाकिस्तानले मध्यस्थकर्ताबीच छलफलको तयारी भएको पुष्टि गरेका समाचार संस्था एएफपीले जनाएको छ ।

यसअघि हिजो अमेरिका र इरानबीच स्विट्जरल्यान्डमा प्रत्यक्ष वार्ता हुने भनिएको भए पनि त्यो अन्तिम समयमा स्थगित गरिएको थियो । पाकिस्तानको विदेश मन्त्रालयले पाकिस्तान, साउदी अरब, टर्कीए र इजिप्टका विदेश मन्त्रीहरू ‘क्षेत्रीय विकास र शान्ति, सुरक्षा र स्थिरतासँग सम्बन्धित मुद्दा’ हरूमा छलफल गर्न भेला हुने जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उहाँका इरानी समकक्षी मसुद पेजेस्कियनले गएको फेब्रुअरी २८ देखि शुरु भएको अमेरिका–इजरायल र इरान द्वन्द्व अन्त्य गर्ने उद्देश्यले पछिल्लो पटक समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

यसले हर्मुजको जलडमरूमध्य पुनः खोल्ने र तेहरानको आणविक कार्यक्रमसहित व्यापक मुद्दाहरूमा ६० दिने वार्ता अवधि शुरु गर्ने कार्यका लागि बाटो खोलिदिएको हो ।

प्रकाशित मिति: ६ असार २०८३, शनिबार  ०८ : ३६  बजे