विश्वकप फुटबलमा क्यानडा र स्वीजरल्याण्डको जीत, चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेले

काठमाडौं, ५ असार । विश्वकप फुटबलमा क्यानडाले समूह बी को दोस्रो खेलमा ऐतिहासिक जित निकालेको छ । क्यानडाले कतारलाई ६–० ले हरायो ।

क्यानडाका लागि १६औँ मिनेटमा क्लाइल केरिनले पहिलो गोल गरे । ३९औँ मिनेटमा गोल गरेका जोनाथ डेभिसले पहिलो हाफ समाप्त हुनु केही क्षणअघि व्यक्तिगत दोस्रो गोल गरे ।

पहिलो हाफमा कतारविरुद्ध क्यानडाले ३–० को अग्रता लियो ।पहिलो हाफको ३३औँ मिनेटमा कतारका होमाम अहमदले रेड कार्ड पाएपछि कतार १० जनामा सीमित भयो । खेलको ५५औँ मिनेटमा कतारका अर्का खेलाडी असिम ओमामिदोलाई पनि रेफ्रीले रेड कार्ड थमाए । कतार नौ जनामा सीमित रह्यो । ६३औँ मिनेटमा लियाम मिलरले क्यानडाका लागि गोल गरे ।खेलको ७४औँ मिनेटमा कतारले आत्मघाती गोल गर्दा स्कोर ५–० पुग्यो । खेलको इन्जुरी समयमा जोनाथन डेभिडले गोल गर्दै घरेलु मैदानमा ह्याट्रिक बनाए । त्यसपछि क्यानडा ६–० ले विजयी भयो । जीतसँगै क्यानडाले अङ्क तालिकामा चार अङ्क जोडेको छ ।गए राति नै समूह ‘बी’ को खेलमा स्विट्जरल्यान्ड पहिलो जितसहित समूहको शीर्ष स्थानमा उक्लिएको छ भने समूह ‘ए’ मा चेक रिपब्लिक र दक्षिण अफ्रिकाले बराबरी खेलेका छन् ।

अमेरिकाको लस एन्जलसमा रहेको सोफाइ स्टेडियममा सम्पन्न खेलमा स्विट्जरल्यान्डले बोस्निया एन्ड हर्जगोभिनालाई ४–१ गोल अन्तरले पराजित गर्‍यो । खेलको ७४औँ मिनेटमा जोहान मान्जाम्बीले गोल गर्दै स्विट्जरल्यान्डलाई अग्रता दिलाएका थिए । ८४औँ मिनेटमा रुबेन वर्गास र ९० औँ मिनेटमा मान्जाम्बीले गोल गर्दै टोलीको अग्रता ३–० पुर्‍याए ।इन्जुरी समयमा एर्मिन माहमिकले एक गोल फर्काए पनि अन्तिम समयमा प्राप्त पेनाल्टीलाई ग्रानिट जाकाले गोलमा परिणत गर्दै स्विट्जरल्यान्डलाई ४–१ को सहज जित दिलाए । यसअघि स्विट्जरल्यान्डले कतारसँग १–१ को बराबरी खेलेको थियो । बोस्निया भने पहिलो खेलमा क्यानडासँग १–१ को बराबरीमा रोकिएको थियो । यस्तै आज बिहान सम्पन्न अर्को खेलमा चेक रिपब्लिक र दक्षिण अफ्रिकाले १–१ को बराबरी खेल्दै अङ्क बाँडेका छन् ।खेलको पाँचौँ मिनेटमै मिखाइल सेड्लिकको गोलबाट चेक रिपब्लिकले अग्रता लिएको थियो । तर ८१ औँ मिनेटमा प्राप्त पेनाल्टी अवसरलाई थियबो मोनेकाले सदुपयोग गर्दै दक्षिण अफ्रिकाले १–१ को बराबरी बनायो । बराबरीसँगै चेक रिपब्लिक र दक्षिण अफ्रिकाले प्रतियोगितामा पहिलो अङ्क जोडेका छन् ।विश्वकपमा आज बिहान पौने ७ बजे मेक्सिको र दक्षिण कोरिया खेल्दैछन् ।

प्रकाशित मिति: ५ असार २०८३, शुक्रबार  ०७ : ०३  बजे