झापाका सबै चिया उद्योग भोलिदेखि बन्द, करिब ६० हजार श्रमिक प्रभावित हुने

झापा, असार । झापाका सम्पूर्ण चिया उद्योगहरू भोलि (बिहीबार)देखि बन्द हुने भएका छन्। उद्योग बन्द भएपछि करिब ६० हजार श्रमिक तथा कर्मचारीको रोजगारी प्रभावित हुने अनुमान गरिएको छ।

नेपाल चिया उत्पादक संघका अनुसार भारतले लागू गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर (एसओपी)’ का कारण नेपाली चिया निर्यातमा गम्भीर समस्या देखिएपछि उद्योग बन्द गर्ने निर्णय गरिएको हो।

संघका केन्द्रीय अध्यक्ष आदित्य पराजुली ले भारतीय चिया बोर्ड र वाणिज्य विभागको संयुक्त बैठकपछि लागू गरिएको नयाँ नीतिका कारण निर्यात प्रक्रिया जटिल बनेको र चिया निर्यात अवरुद्ध भएको बताउनुभयो।

संघका अनुसार झापामा १ सरकारी र ४ सहकारीसहित ३२ चिया उद्योग सञ्चालनमा छन्। यसअघि नै इलामका ५३ अर्थोडक्स चिया उद्योग बन्द भइसकेका छन्।

नयाँ एसओपी अन्तर्गत गुणस्तर परीक्षण, भण्डारण तथा ढुवानीसम्बन्धी कडाइका कारण नेपाली चिया भारततर्फ निर्यात हुन नसकेको उद्योगीहरूको भनाइ छ।

उद्योगीहरूका अनुसार परीक्षण रिपोर्ट आउन २० देखि २५ दिनसम्म लाग्ने, सो अवधिमा चिया गोदाममै थन्किनुपर्ने र गुणस्तर बिग्रिए नष्ट गर्नुपर्ने जस्ता प्रावधानले समस्या थपिएको छ।

चिया उद्योग बन्द हुँदा किसानले उत्पादन गरेको हरियो चिया बिक्री नहुने, मजदुरको रोजगारी गुम्ने तथा उद्योगीहरू बैंक ऋण, कर र विद्युत् महसुल तिर्न नसक्ने अवस्था सिर्जना भएको संघले जनाएको छ।

संघले समस्या समाधानका लागि सरकारसँग तत्काल कूटनीतिक पहल गर्न माग गर्दै जिल्ला प्रशासन कार्यालय झापामार्फत ध्यानाकर्षण गराइसकेको छ।

प्रकाशित मिति: ३ असार २०८३, बुधबार  २० : ५९  बजे