पर्यटकीय याममा मुस्ताङका होटल र पसलमा कडा छड्के अनुगमन, अखाद्य वस्तु बरामद

मुस्ताङ, २ असार । मुस्ताङको सदरमुकाम जोमसोमस्थित होटल तथा व्यापारिक प्रतिष्ठानहरूमा संयुक्त टोलीले छड्के बजार अनुगमन गरेको छ ।

घरपझोङ गाउँपालिकाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय तथा अन्य सरोकारवाला निकायको सहभागितामा पुथाङ एयरपोर्ट बजार क्षेत्रमा आकस्मिक अनुगमन गरिएको हो । गाउँपालिका उपाध्यक्ष जमुना थकालीको नेतृत्वमा सञ्चालित अनुगमनका क्रममा २५ भन्दा बढी होटल तथा किराना, फ्रेस हाउस र खाद्यान्न पसलको निरीक्षण गरिएको गाउँ कार्यपालिका सदस्य भिषण थकालीले जानकारी दिनुभयो ।

पर्यटकीय याम सुरु भएसँगै मुस्ताङ आउने स्वदेशी तथा विदेशी पर्यटक र स्थानीय उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै अनुगमन गरिएको उपाध्यक्ष थकालीले बताउनुभयो । म्याद गुज्रिएका तथा अखाद्य वस्तुले मानव स्वास्थ्यमा प्रतिकूल असर पार्न सक्ने भएकाले बजार अनुगमनलाई प्राथमिकता दिइएको उहाँको भनाइ छ ।

अनुगमन टोलीले व्यवसाय दर्ता तथा नवीकरण, मूल्यसूची, साइनबोर्ड, खरिद–बिक्री बिल, सरसफाइको अवस्था, प्यान तथा भ्याट बिलको प्रयोग, अन्तःशुल्क स्टिकर, खाद्य सामग्रीको लेबल, नापतौल तथा लगबुक रजिस्टरको अवस्थाबारे निरीक्षण गरेको थियो ।

घरपझोङ गाउँपालिकाले २०८० सालदेखि सिसाका बोतलमा प्याकेजिङ गरिएका बियर बिक्री–वितरणमा प्रतिबन्ध लगाउँदै आएको छ। सो निर्णयको कार्यान्वयन अवस्थासमेत अनुगमन गरिएको जनाइएको छ । गाउँपालिकाका अनुसार सिसाका बोतलले दुर्घटना तथा वातावरणीय जोखिम बढाउने भएकाले प्रतिबन्धलाई कडाइका साथ लागू गरिएको हो ।

अनुगमनका क्रममा फेला परेका म्याद गुज्रिएका खाद्यवस्तु बरामद गरी सरोकारवाला निकायको रोहवरमा जोमसोमस्थित कालीगण्डकी नदी किनारमा नष्ट गरिएको छ ।

प्रकाशित मिति: २ असार २०८३, मंगलबार  २० : ३६  बजे