मुलुक अलोकतान्त्रिक खोँचतिर धकेलिँदैछ, प्रमुख दलहरू जिम्मेवार बन्नुपर्छ : प्रदीप ज्ञवाली

महँगी, मल अभावदेखि चिया निर्यात संकटसम्म सरकार असफल, राष्ट्रिय मुद्दा ओझेलमा पार्न हुँदैन

काठमाडौं, २ असार । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रमुख लोकतान्त्रिक दलहरू एमाले र कांग्रेसले आन्तरिक विवादभन्दा माथि उठेर मुलुकका गम्भीर राष्ट्रिय मुद्दामा ध्यान केन्द्रित गर्नुपर्ने बताउनुभएको छ ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै ज्ञवालीले लोकतान्त्रिक पार्टीभित्र नीति, नेतृत्व, संगठन र कार्यशैलीका विषयमा मतभेद देखिनु स्वाभाविक प्रक्रिया भए पनि ती समस्याको समाधान पार्टीभित्रकै विधि र प्रक्रियाबाट खोजिनुपर्ने बताउनुभयो ।

उहाँले वर्तमान अवस्थामा नेपाल गम्भीर राजनीतिक तथा भूराजनीतिक चुनौतीको सामना गरिरहेको उल्लेख गर्दै सीमामा चिया निर्यात अवरुद्ध हुँदा हजारौँ श्रमिक र सयौँ उद्यमी प्रभावित भएको, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरू समस्यामा परेको, किसानले मल अभाव झेलिरहेको तथा महँगी बढ्दो क्रममा रहेको बताउनुभयो ।

सरकारमाथि कटाक्ष गर्दै ज्ञवालीले यस्ता समस्याप्रति गम्भीर बन्नुपर्ने बेला प्रधानमन्त्री र सरकार जनजीविकाका सवालमा उदासीन देखिएको आरोप लगाउनुभयो । उहाँले व्यवसायीमाथि धम्की, श्रमजीवी वर्गप्रति असंवेदनशील व्यवहार तथा राज्य संयन्त्रको दुरुपयोगका घटनाले जनतामा निराशा बढाएको टिप्पणी गर्नुभयो ।

राष्ट्रपति संस्थाको सम्मानमा कमी, संसद्को अवमूल्यन, लोकतान्त्रिक अधिकारको सङ्कुचन, संवैधानिक निकायमाथिको हस्तक्षेप तथा राजनीतिक प्रतिशोधका गतिविधिले मुलुकलाई अलोकतान्त्रिक दिशातर्फ धकेलिरहेको उहाँको दाबी छ ।

आन्तरिक विषयमा बहस भइरहे पनि राष्ट्रिय सरोकारका मुद्दा ओझेलमा पर्न नहुने उल्लेख गर्दै ज्ञवालीले जनताको चासो दलहरूको आन्तरिक राजनीतिभन्दा देशका प्रमुख समस्याको समाधानमा रहेको बताउनुभयो ।

प्रकाशित मिति: २ असार २०८३, मंगलबार  १७ : २४  बजे