काठमाडौं, १ असार । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। यो चालु आर्थिक वर्षको तुलनामा एक अर्ब दुई करोड रुपैयाँ बढी हो।
सोमबार प्रदेशसभामा आर्थिक मामिलामन्त्री जीतबहादुर शेरचनले आय–व्ययको अनुमानित विवरण प्रस्तुत गर्दै नयाँ बजेट घोषणा गर्नुभएको हो। चालु आर्थिक वर्षमा प्रदेश सरकारले ३१ अर्ब ९७ करोड ९९ लाख रुपैयाँको बजेट ल्याएको थियो।
नयाँ बजेटमध्ये चालु खर्चतर्फ १२ अर्ब ७२ करोड २६ लाख रुपैयाँ अर्थात् ३८.५६ प्रतिशत विनियोजन गरिएको छ भने पुँजीगत खर्चतर्फ २० अर्ब २ करोड ६१ लाख रुपैयाँ अर्थात् ६०.६८ प्रतिशत छुट्याइएको छ। वित्तीय व्यवस्थापनका लागि २५ करोड रुपैयाँ विनियोजन गरिएको छ।
बजेट कार्यान्वयनका लागि नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानमार्फत ७ अर्ब ४ करोड ८२ लाख रुपैयाँ, राजस्व बाँडफाँटबाट १० अर्ब १६ करोड ४७ लाख रुपैयाँ तथा रोयल्टी बाँडफाँटबाट ५१ करोड ४ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।
यस्तै, सशर्त अनुदानतर्फ ३ अर्ब ९३ करोड रुपैयाँ, समपूरक अनुदानतर्फ ५५ करोड ४६ लाख रुपैयाँ र विशेष अनुदानतर्फ ३९ करोड ५४ लाख रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ।
आन्तरिक स्रोत परिचालनबाट ५ अर्ब ४ करोड १ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य राखिएको प्रदेश सरकारले चालु आर्थिक वर्षबाट २ अर्ब रुपैयाँ मौज्दात रहने जनाएको छ। बजेट स्रोतमा अपुग हुने १ अर्ब ७५ करोड रुपैयाँ आन्तरिक ऋणमार्फत जुटाइने आर्थिक मामिलामन्त्री शेरचनले जानकारी दिनुभयो।
प्रदेश सरकारले आगामी बजेटमार्फत पूर्वाधार विकास, उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने लक्ष्य लिएको जनाएको छ।








प्रतिक्रिया