बाढी आउनुअघि नै बज्नेछ साइरनः काभ्रेका नदी किनारमा पूर्वसूचना प्रणाली जडान

काभ्रे, १ असार । वर्षायाममा हुनसक्ने प्राकृतिक प्रकोप र जनधनको क्षति न्यूनीकरण गर्न काभ्रेपलाञ्चोकका नदी–तटीय क्षेत्रमा आधुनिक मौसम तथा बाढी मापन प्रणाली विस्तार गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागले सुनकोशी र रोशी नदी आसपासका जोखिमपूर्ण क्षेत्रहरूलाई लक्षित गरी पुराना केन्द्रहरूको व्यवस्थापन र नयाँ उपकरणहरू जडान गर्ने कार्यलाई तीव्र पारेको हो । विभागले स्थानीय नागरिक र सरोकारवाला निकायहरूसँगको छलफलपछि जिल्लामा थप तीन बाढी मापन केन्द्र र एक मौसम मापन केन्द्र स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ ।

कहाँ–कहाँ छन् उपकरण ?

विभागका वरिष्ठ हाइड्रोलोजिष्ट विनोद पराजुलीका अनुसार हालसम्म जिल्लाका निम्न स्थानहरूमा उपकरणहरू सञ्चालनमा आइसकेका छन् ।

मौसम मापन केन्द्र (७ स्थान) : धुलिखेल, खोपासी, नाला, पाँचखाल, मण्डनदेउपुर, दोलालघाट र पचुवारघाट।

बाढी मापन केन्द्र (३ स्थान) : सुनकोशी नदीको दोलालघाट र पचुवारघाट, तथा पनौती बजार क्षेत्र।

थपिने नयाँ केन्द्रहरू

जोखिम न्यूनीकरणलाई अझ प्रभावकारी बनाउन विभागले नयाँ रणनीतिक स्थानहरूमा उपकरण थप्दैछ

रोशी गाउँपालिका–२ फलामेसाँघु : नयाँ मौसम मापन उपकरण।

पनौती र नमोबुद्धको सिमाना (रोशी खोला पुल) : नयाँ बाढी मापन उपकरण।

रोशी–सुनकोशी सङ्गमस्थल (नेपालथोक पुल नजिक) : नयाँ बाढी मापन उपकरण।

जोखिम क्षेत्रमा ‘बत्ती र साइरन’ परीक्षण

बाढीको तत्काल सूचना दिन विभागले पनौतीको गोरखनाथ मन्दिर नजिकै परीक्षणका लागि विशेष बत्ती र साइरन प्रणाली जडान गरेको छ । नदीको जलस्तर बढेर खतराको तह पार गर्नासाथ यो प्रणालीले स्थानीयलाई सचेत गराउनेछ, जसले गर्दा तटीय क्षेत्रका नागरिकले समयमै सुरक्षित स्थानमा सर्न पाउनेछन्।

प्रकाशित मिति: १ असार २०८३, सोमबार  ११ : १०  बजे