इप्पानमा मोहन डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, अधिकांश पदमा निर्विरोध चयन

काठमाडौं, ३० जेठ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को नयाँ कार्यसमिति चयन भएको छ। विधानअनुसार वरिष्ठ उपाध्यक्ष रहनुभएका मोहन डाँगी स्वतः अध्यक्ष पदमा निर्वाचित हुनुभएको छ।

शुक्रबार सम्पन्न इप्पानको वार्षिक साधारणसभाबाट कोषाध्यक्ष पदबाहेक अन्य अधिकांश पदमा सर्वसम्मत रूपमा नेतृत्व चयन गरिएको हो। वरिष्ठ उपाध्यक्षसहित विभिन्न पदका लागि उत्तर ब्लोन लामा र बलराम खतिवडा समूहबीच प्रतिस्पर्धाको तयारी भए पनि अन्तिम समयमा सहमति जुटेपछि अधिकांश पदाधिकारी तथा सदस्यहरू निर्विरोध निर्वाचित हुनुभएको हो।

कोषाध्यक्ष पदमा भने सहमति हुन नसकेपछि निर्वाचन भएको थियो। निर्वाचनमा शंकर बस्यालले २ सय ६७ मत प्राप्त गर्दै विजय हासिल गर्नुभएको छ। उहाँका प्रतिस्पर्धी मिथुन चक्रवर्तीप्रसाद पौडेलले ८२ मत प्राप्त गर्नुभएको थियो।

नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा उत्तम लामा निर्विरोध निर्वाचित हुनुभएको छ। उपाध्यक्षहरूमा उत्तरकुमार श्रेष्ठ, नरेन्द्रबल्लभ पन्त, सुसन कर्माचार्य, विक्रम विष्ट र हिमप्रसाद पाठक चयन हुनुभएको छ।

त्यसैगरी महासचिवमा टेकनाथ आचार्य, उपमहासचिवमा कविता पोखरेल तथा सचिवहरूमा अभिज्ञा मल्ल, इशा श्रेष्ठ, कुवेरमणि नेपाल, विजयमोहन भट्टराई र सुमनकुमारी जोशी निर्विरोध निर्वाचित हुनुभएको छ।

कार्यसमिति सदस्यहरूमा अनुप आचार्य, कदम केसी, जगदीश शिवाकोटी, जगतबहादुर पोखरेल, नारायण कँडेल, मिलन खड्का र वर्गन लामिछाने निर्विरोध चयन हुनुभएको छ।

नयाँ नेतृत्व चयनसँगै इप्पानले ऊर्जा क्षेत्रको विकास, निजी क्षेत्रको लगानी प्रवर्द्धन तथा जलविद्युत् आयोजनाहरूको विस्तारमा थप प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: ३० जेष्ठ २०८३, शनिबार  १३ : ००  बजे