काठमाडौं, २९ जेठ । ओमानको तटीय क्षेत्रमा भारतीय नाविक सवार तेल ट्यांकरमा अमेरिकाले आक्रमण गर्दा तीन भारतीय नाविक मारिएका छन्। भारतले यो घटनापछि अमेरिकासमक्ष कडा विरोध जनाएको छ। भारतको विदेश मन्त्रालयले अमेरिकी नौसेनाले भारतीय चालकदल रहेको तेस्रो जहाज एमटी जलवीर (एमटी जालभिर) माथि पनि आक्रमण गरेको जनाएको छ।आजै अमेरिकाले तेस्रो जहाजमा आक्रमण गरेको थियो।
आक्रमणमा मन्त्रालयका अनुसार जहाजमा रहेका सबै २० भारतीय नाविक सुरक्षित छन् र उनीहरूलाई उद्धार गरिएको छ।यसअघि एमटी सेत्तेबेल्लो र एमटी मारिवेक्स नामक तेल ट्यांकरहरूमा आक्रमण हुँदा तीन भारतीय नाविकको मृत्यु भएको थियो। घटनापछि भारतले अमेरिकी दूतावासका कार्यवाहक प्रमुख जेसन मेकसलाई विदेश मन्त्रालयमा बोलाएर औपचारिक विरोध दर्ता गराएको छ। विदेश मन्त्रालयका प्रवक्ता रनधिर जैसवालले भारतीय नाविकहरूको सुरक्षा भारतका लागि सर्वोच्च प्राथमिकता रहेको बताए।भारतले अमेरिकालाई स्पष्ट रुपमा समुद्री कर्मचारीहरूको सुरक्षा सुनिश्चित गरिनुपर्ने र जहाजमाथि भइरहेका आक्रमण तुरुन्त रोक्नुपर्ने जनाएको छ।
खाडी क्षेत्रमा १८ हजारभन्दा बढी भारतीय नाविक
भारत सरकारका अनुसार हाल खाडी क्षेत्रमा १३ वटा भारतीय झण्डावाहक जहाज सञ्चालनमा छन्, यो क्षेत्रमा १८ हजारभन्दा बढी भारतीय नाविक कार्यरत छन्, तीमध्ये ५६२ जना भारतीय जहाजहरूमा तैनाथ छन्। यसकारण क्षेत्रीय द्वन्द्वले भारतीय नागरिकको सुरक्षामाथि प्रत्यक्ष प्रभाव पार्न सक्ने चिन्ता भारतले व्यक्त गरेको छ।
अमेरिकी सेनाको केन्द्रीय कमाण्ड ९सेन्टकम० ले तत्काल एमटी जलवीर घटनाबारे प्रतिक्रिया दिएको छैन। तर यसअघि मारिवेक्स र सेत्तेबेल्लोमाथिको कारबाहीको बचाउ गर्दै सेन्टकमले ती जहाजहरूले अमेरिकी सैन्य निर्देशन पालना नगरेको दाबी गरेको थियो।
अमेरिका हाल इरानी बन्दरगाहहरूविरुद्ध समुद्री नाकाबन्दी लागू गरिरहेको छ र सोही अभियानअन्तर्गत कारबाही गरिएको अमेरिकी पक्षको भनाइ छ।
भारतले क्षेत्रीय तनावको समाधान सैन्य कारबाहीबाट नभई संवाद र कूटनीतिक माध्यमबाट खोजिनुपर्ने धारणा दोहोर्याएको छ। विदेश मन्त्रालयले हर्मुज बाट अन्तर्राष्ट्रिय कानुनअनुसार जहाजहरूको निर्बाध आवतजावत पुनः सुनिश्चित गरिनुपर्नेमा जोड दिएको छ।








प्रतिक्रिया