विश्वकप फुटबलमा मेक्सिकोको विजयी सुरुआत, उद्घाटन खेलमै ३ खेलाडीले पाए रातो कार्ड

काठमाडौं, २९ जेठ । फिफा विश्वकप २०२६ को उद्घाटन खेलमा आयोजक मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० गोलले पराजित गरेको छ ।मेक्सिको सिटी रङ्गशालामा आज बिहान सम्पन्न समूह ‘ए’ को खेलमा जुलियन क्विन्योनेस र राउल हिमेनेजले गोल गरे । खेलको नवौँ मिनेटमा जुलियन क्विन्योनेसले पहिलो गोल गरेका थिए ।

खेलको ६० औँ मिनेटमा राउल हिमेनेजलाई फल गरेपछि दक्षिण अफ्रिकाका याया सिथोले सिधै रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए । त्यसपछि १० खेलाडीमा सीमित बनेको दक्षिण अफ्रिकाविरुद्ध खेलको ६७ औँ मिनेटमा मेक्सिकोका राउल हिमेनेजले हेडमार्फत गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको अन्त्यतिर तनावपूर्ण अवस्था देखिएको थियो । खेलको ८४औ मिनेटमा दक्षिण अफ्रिकाका थेम्बा ज्वानेले भीएआर समीक्षापछि रातो कार्ड पाए ।इन्जुरी समयमा मेक्सिकोका सेजार मोन्टेसले पनि रातो कार्ड पाएपछि मेक्सिको पनि १० खेलाडीमा सीमित भयो । जीतसँगै मेक्सिकोले समूह ‘ए’ मा महत्त्वपूर्ण तीन अंक जोडेको छ । यसै समूहअन्तर्गत अर्को खेलमा दक्षिण कोरिया र चेकियाबीच नेपाली समयअनुसार अहिले बिहान ७स्४५ बजे प्रतिस्पर्धा हुदैछ ।

प्रकाशित मिति: २९ जेष्ठ २०८३, शुक्रबार  ०६ : ५२  बजे