विश्वकप २०२६: अनधिकृत स्ट्रिमिङ रोक्न ३५ वेबसाइट र एप बन्द गर्न निर्देशन

काठमाडौं, २८ जेठ ।  नेपाल दूरसञ्चार प्राधिकरणले फिफा विश्वकप २०२६ का खेलहरू अनधिकृत रूपमा प्रसारण हुन नदिन कडा कदम चाल्दै ३५ वटा वेबसाइट र मोबाइल एप तत्काल बन्द गर्न इन्टरनेट सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ ।

बिहीबार जारी गरिएको सूचनामा प्राधिकरणले केही अनधिकृत प्लेटफर्महरूले नेपालमा विश्वकपका खेलहरू बिना अनुमति निःशुल्क स्ट्रिमिङ गर्ने तयारी गरेको जानकारी प्राप्त भएको उल्लेख गरेको छ ।

प्राधिकरणका अनुसार नेपालमा विश्वकप–२०२६ को आधिकारिक प्रसारण अधिकार हिमालय टेलिभिजन नेटवर्क (हिमालय स्पोर्ट्स) र डिसहोम डिजिटल प्रालिको संयुक्त उपक्रम HTV–DGO ब्रड्कास्टिङ कन्सोर्टियम जेभीसँग मात्र रहेको छ ।

यस्ता पाइरेटेड साइट र एपमार्फत प्रसारण भएमा कपीराइट उल्लङ्घन हुने भएकाले त्यसलाई रोक्न यो निर्णय गरिएको प्राधिकरणले जनाएको छ ।

सहायक निर्देशक सुनिता पाण्डेले सेवा प्रदायकहरूलाई पत्र पठाउँदै सूचीमा परेका सबै प्लेटफर्म तुरुन्त निष्क्रिय गर्न निर्देशन दिएकी हुन् ।

ब्लक गर्न भनिएका प्लेटफर्महरूमा kick.com, sportzfy, webcric, streameast, ronaldo7 लगायतका विभिन्न वेबसाइट र एपहरू समावेश छन् ।

प्राधिकरणले कानुनी प्रसारण अधिकारको संरक्षण र डिजिटल पाइरेसी नियन्त्रणका लागि सबै सेवा प्रदायकहरूलाई सहयोग गर्न आग्रह गरेको छ ।

प्रकाशित मिति: २८ जेष्ठ २०८३, बिहिबार  २१ : २०  बजे