काठमाडौं, २८ जेठ । वीर अस्पतालका आवासीय चिकित्सक (रेजिडेन्ट डाक्टर)हरूले भत्ता नपाएको विरोधमा कालोपट्टी बाँधेर प्रतिकात्मक आन्दोलन सुरु गरेका छन्। माग सम्बोधन नभए ७२ घण्टाभित्र पूर्ण हड्तालमा उत्रिने चेतावनीसमेत उनीहरूले दिएका छन्।
रेजिडेन्ट एसोसिएसन अफ न्याम्स (र्यान) ले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत कार्यरत रेजिडेन्ट चिकित्सकहरूले समयमै पाउनुपर्ने निर्वाह भत्ता लामो समयदेखि नपाएको जनाएको छ।
चिकित्सकहरूको भनाइ अनुसार प्रत्येक महिनाको ७ गतेभित्र उपलब्ध हुनुपर्ने भत्ता दुई महिना बितिसक्दा पनि वैशाख महिनाको भुक्तानी हुन सकेको छैन।
र्यानका अध्यक्ष डा. प्रकाश खरेलले अस्पताल प्रशासन तथा चिकित्सा शिक्षा आयोगसँग पटक–पटक छलफल भए पनि समस्या समाधानका लागि कुनै ठोस निर्णय नभएको बताउनुभयो।
उहाँले ७२ घण्टाभित्र माग सम्बोधन नभए सम्पूर्ण रेजिडेन्ट चिकित्सकहरू आकस्मिक सेवासमेत बन्द गरेर पूर्ण हड्तालमा जान बाध्य हुने चेतावनी दिनुभयो।
“यदि ७२ घण्टाभित्र माग सम्बोधन भएन भने सम्पूर्ण रेजिडेन्ट डाक्टरहरू आकस्मिक सेवासमेत बन्द गरेर पूर्ण हड्तालमा जान्छौँ,” उहाँले भन्नुभयो।
चिकित्सकहरूले आन्दोलन चर्किएमा बिरामी सेवामा गम्भीर असर पर्न सक्ने चेतावनी दिएका छन्। साथै, त्यसबाट उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवारी अस्पताल प्रशासन, चिकित्सा शिक्षा आयोग तथा सम्बन्धित निकायले लिनुपर्ने उनीहरूको भनाइ छ।
वीर अस्पताल देशकै सबैभन्दा ठूलो सरकारी अस्पतालमध्ये एक भएकाले चिकित्सकहरूको आन्दोलनले स्वास्थ्य सेवा प्रवाहमा व्यापक प्रभाव पार्न सक्ने देखिएको छ।








प्रतिक्रिया