फ्लाई दुबईले पोखरा-दुबई दैनिक उडान भर्ने, यस्तो छ उडान तालिका

काठमाडौं, २८ जेठ । दुबईको राष्ट्रिय एयरलाइन्स फ्लाईदुबई ले नेपालको दोस्रो गन्तव्यका रूपमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक उडान भर्ने घोषणा गरेको छ। उक्त सेवा आगामी २३ सेप्टेम्बर २०२६ देखि सुरु हुनेछ ।

नयाँ सेवासँगै फ्लाई दुबई संयुक्त अरब इमिरेट्सबाट पोखरासम्म प्रत्यक्ष नियमित उडान सञ्चालन गर्ने पहिलो एयरलाइन्स बन्ने भएको छ । सन् २००९ देखि काठमाडौंमा सफलतापूर्वक सेवा प्रदान गर्दै आएको फ्लाईदुबईले हालसम्म नेपालमा करिब ४० लाख यात्रुलाई सेवा उपलब्ध गराइसकेको छ ।

फ्लाई दुबईका प्रमुख कार्यकारी अधिकृत गैथ अल गैथले नेपाल फ्लाई दुबईका लागि अत्यन्त महत्वपूर्ण बजार रहेको उल्लेख गर्दै पोखरामा प्रत्यक्ष उडान विस्तार गर्नु नेपाल र युएई बीचको पर्यटन, व्यापार तथा जनस्तरीय सम्बन्धलाई थप सुदृढ बनाउने महत्वपूर्ण कदम भएको बताउनुभयो ।

उहाँले दुबईलाई विश्वस्तरीय हवाई केन्द्रका रूपमा उपयोग गर्दै यात्रुहरूलाई थप पहुँच र सहज कनेक्टिभिटी प्रदान गर्न पाउँदा कम्पनी गौरवान्वित रहेको बताउनुभयो । त्यसैगरी, फ्लाई दुबईका कमर्सियल अपरेसन विभागका वरिष्ठ उपाध्यक्ष सुधिर श्रीधरानले पोखरा उडानले यात्रुहरूलाई थप विकल्प र सुविधाजनक यात्रा अनुभव प्रदान गर्ने उल्लेख गर्नुभयो ।

उहाँका अनुसार यो सेवा संयुक्त अरब इमिरेट्स, खाडी मुलुकहरू, मध्यपूर्व, युरोप तथा फ्लाईदुबईको विस्तृत अन्तर्राष्ट्रिय सञ्जालबाट यात्रा गर्ने यात्रुहरूको मागलाई लक्षित गरी सञ्चालन गरिनेछ । अन्नपूर्ण हिमशृंखलाको काखमा अवस्थित पोखरा नेपालको प्रमुख पर्यटन तथा साहसिक गतिविधिको केन्द्रका रूपमा परिचित छ ।

नयाँ प्रत्यक्ष उडान सेवाले पश्चिम नेपालको पर्यटन प्रवर्द्धन, आर्थिक गतिविधि विस्तार तथा अन्तर्राष्ट्रिय पहुँच अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । यो सेवा फ्लाई दुबई र एमिरेट्सबीचको कोडसेयर साझेदारीअन्तर्गत सञ्चालन हुनेछ, जसबाट यात्रुहरूले एउटै टिकट, सामानको थ्रु(चेक(इन तथा विस्तृत अन्तर्राष्ट्रिय नेटवर्कमा सहज पहुँचको सुविधा प्राप्त गर्नेछन् ।

उडान तालिका
उडान नम्बर रुट प्रस्थान आगमन

FZ 1165 दुबई (DXB) – पोखरा (PHH) 12:00 18:15
FZ 1166 पोखरा (PHH) – दुबई (DXB) 19:15 22:00

नयाँ सेवासँगै फ्लाईदुबईले नेपालप्रतिको आफ्नो दीर्घकालीन प्रतिबद्धतालाई थप सुदृढ बनाउँदै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमार्फत नेपालको पर्यटन तथा आर्थिक विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ ।

प्रकाशित मिति: २८ जेष्ठ २०८३, बिहिबार  १७ : २६  बजे