काठमाडौं, २८ जेठ । परराष्ट्रमन्त्री शिशिर खनालले सीमा स्तम्भ निर्माण, मर्मत, दशगजा क्षेत्रको अतिक्रमण तथा क्रस बोर्डर अकुपेसनको लगत सङ्कलन गर्न दुई देशका सीमासम्बन्धी संयन्त्र र प्राविधिक टोली क्रियाशील रहेको बताउनुभएको छ ।
राष्ट्रियसभाको बैठकमा जवाफ दिँदै लामो समयदेखि अवरुद्ध रहेको प्राविधिक समितिको काम हाल सीमा क्षेत्रमा क्रियाशील रहेको बताउनुभयो । उहाँले सीमा क्षेत्रमा संयुक्त रूपमा लगत सङ्कलन गर्ने कार्य भइरहेको समेत जानकारी गराउनुभयो ।
उहाँले भन्नुभयो,‘नेपाल र भारतबीच सदियौँ पुरानो र खुला सिमाना रहेको विषय सर्वविदितै छ । हालको नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा मूलतः सन् १८१६ को सुगौली सन्धिद्वारा स्थापित र निर्देशित छ । नेपाल भारत सिमाना अन्तरगत सुस्ता र लिम्पियाधुरा, लिपुलेक तथा कालापानी क्षेत्रमा नक्साङ्कन हुन बाँकी रहेको छ । ती स्थान बाहेक अन्य केही स्थानहरूमा क्रस बोर्डर अकुपेसन तथा दशगजा अतिक्रमणको समस्याहरू विद्यमान छन् ।’
प्रधानमन्त्रीले संसद्मा उल्लेख गरेको विषय दशगजा क्षेत्र अतिक्रमण र क्रस बोर्डर अकुपेसनसँग सम्बन्धित रहेको बताउनुभयो । उहाँले भन्नुभयो,‘नेपाल भारत सीमा निर्धारण गर्दा नदी सिमाना क्षेत्रमा अवलम्बन गरिएकोले क्रस बोर्डर अकुपेसन भई एक देशका नागरिकले अर्को देशको भू–भागभित्र पर्ने जग्गामा खेतीपाती गर्ने तथा बसोबास गर्ने अवस्था रहेको छ ।’








प्रतिक्रिया