काठमाडौं, २८ जेठ । दैनिक उपभोग्य वस्तुको मूल्य आकाशिएपछि आम नेपाली जनताको ढाड सेकिएको छ । बजारमाथि सरकारको अनुगमन शून्य प्रायः हुँदा र बिचौलियाको राज चल्दा सर्वसाधारणको भान्सा इतिहासकै महँगो बनेको छ ।
आयस्रोत नबढ्ने तर महँगी दिन दुई गुणा रात चौगुणाले बढ्ने क्रम नरोकिँदा निम्न र मध्यम वर्गीय परिवारमा तीव्र आक्रोश फैलिएको हो । त्यस्तै बजारमा अहिले चामल, दाल, र तेलको भाउ उच्च विन्दुमा पुगेको छ ।
‘अब त अति भयो’
बजारमा भेटिएका आम उपभोक्ताहरू सरकारप्रति आगो ओकलिरहेका छन् । ‘उही कमाइ, उही जागिर तर खर्च तीन गुणा थपियो,’ काठमाडौंमा भेटिनुभएकी एक गृहिणीले भन्नुभयो,‘नेताहरू चिल्ला गाडीमा हिँड्छन्, हाम्रो यहाँ छाक टार्न धौ–धौ भइसक्यो । सरकार छ कि छैन ?’
उपभोक्ता अधिकारकर्मीहरूका अनुसार बजार पूर्ण रूपमा माफिया र बिचौलियाको कब्जामा गइसकेको छ । सरकारले बेलैमा कदम नचाले महँगीविरुद्ध जनता सडकमा ओर्लने चेतावनी दिएका छन् । नेपाल आयल निगम र बजारको पछिल्लो तथ्याङ्क अनुसार ग्याँस, पेट्रोल र तरकारीको मूल्यले आकाश छोएको छ ।
हाल काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर रू. २१७ र खाना पकाउने एलपी ग्यास प्रतिसिलिन्डर रू. २,१६० कायम भएको छ । त्यस्तै, कालिमाटी फलफूल तथा तरकारी बजारको थोक मूल्यमै स्थानीय गाजर रू। १०० र काउली रू। ६० प्रतिसिट सम्म पुग्दा खुद्रा बजारमा उपभोक्ताहरू दोब्बर मूल्य तिर्न बाध्य छन् ।
सरकारले बजार नियन्त्रणमा देखाएको लाचारीका कारण आम नेपाली उपभोक्ताको ढाड पूर्ण रूपमा सेकिएको हो । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारको बहाना बनाउँदै निरन्तर बढाएको इन्धनको मूल्य र बजारमा बिचौलियाको राजका कारण खाद्यान्न तथा तरकारीको मूल्य इतिहासकै उच्च बिन्दुमा पुगेको छ । जसका कारण सर्वसाधारणलाई बिहान–बेलुकी हातमुख जोर्नै धौ–धौ हुन थालेको छ ।
‘सडकदेखि भान्सासम्म आक्रोश’
‘कमाएको सबै पैसा पेट्रोल, ग्याँस र तरकारी किन्दैमा सकिन्छ, छोराछोरीको स्कुल फि र कोठाभाडा कहाँबाट तिर्नु ?’ काठमाडौँमा भेटिएका एक उपभोक्ताले आक्रोश पोख्दै भन्नुभयो,‘सरकार केवल कर असुल्न व्यस्त छ, जनता भोकभोकै मर्ने अवस्था आउँदा पनि नियमन कता हरायो ?’
उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधिहरूका अनुसार बजारमा कृत्रिम अभाव र बिचौलियाको सेटिङ तोड्न सरकार असफल भएको छ । राज्यले बेलैमा राहत प्याकेज वा मूल्य नियन्त्रणका कदम नचाले, जनताको यो आक्रोश सडक आन्दोलनमा परिणत हुने निश्चित देखिन्छ ।








प्रतिक्रिया