चलचित्र निर्देशक कृष्ण चापागाईंको अमेरिकामा निधन

काठमाडौं, २७ जेठ । चलचित्र निर्देशक कृष्ण चापागाईंको अमेरिकामा हृदयघातका कारण निधन भएको छ । बोस्टनस्थित क्यामब्रीज हेल्थ अलाइन्स ईभिरिट अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको चलचित्र निर्देशक अनिल संग्रौलाले बताउनुभयो ।

काठमाडौं, जोरपाटीका स्थायी बासिन्दा उहाँ डेढ दशकदेखि अमेरिकामा बस्दै आउनुभएको थियो । पत्नी, दुई छोरी र एक छोरासहित उहाँ बोस्टनमा बस्नुहुन्थ्यो । उहाँले ‘एक नजर’, ‘दिदीभाइ’, ‘चट्टान’, ‘इज्जतदार’, ‘दिवानापन’ ‘निखिल दाइ’लगायतका चलचित्रको लेखन, निर्देशन गर्नुभएको छ ।

उहाँले केही समय जोरपाटीमा चापागाईं सुटिङ स्टुडियो सञ्चालन गर्नुभएको थियो । चलचित्र क्षेत्रमा सक्रिय हुनुअघि उहाँ नाट्यकर्मी थिए । त्यसपछि भिडियो फिल्म हुँदै ठूलो पर्दाका चलचित्रको सहायक निर्देशकका रूपमा सक्रिय हुनुहुन्थ्यो ।

प्रकाशित मिति: २७ जेष्ठ २०८३, बुधबार  १९ : २१  बजे