पोखराबाट दुबईसम्म सिधा उडान सुरु हुने, फ्लाई दुबईले सेप्टेम्बर २३ देखि दैनिक सेवा सञ्चालन गर्ने

काठमाडौं, २७ जेठ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने भएको छ। संयुक्त अरब इमिरेट्सको वायुसेवा कम्पनी फ्लाई दुबई ले आगामी सेप्टेम्बर २३ देखि पोखरा–दुबई–पोखरा सिधा दैनिक उडान सेवा सञ्चालन गर्ने भएको हो।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौला का अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले फ्लाई दुबईको उडान तालिका स्वीकृत गरिसकेको छ। यससँगै पोखरा–दुबई सिधा हवाई सम्पर्क औपचारिक रूपमा सुरु हुने भएको छ।

उहाँका अनुसार फ्लाई दुबईको प्राविधिक टोलीले केही समयअघि विमानस्थलको सुरक्षा, सेफ्टी तथा सञ्चालन अवस्थाको विस्तृत निरीक्षण गरेको थियो। निरीक्षण सन्तोषजनक भएपछि नियमित उडानको प्रक्रिया अगाडि बढाइएको हो।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य ले यो निर्णयलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि ऐतिहासिक उपलब्धि भएको बताउनुभयो। उहाँका अनुसार दुबईसँग प्रत्यक्ष हवाई सम्पर्कले मध्यपूर्व, युरोप, अफ्रिका लगायत विश्वका तीन सयभन्दा बढी सहरसँग पोखराको पहुँच विस्तार हुनेछ।

उहाँले यो केवल नयाँ हवाई सेवा थपिने विषय मात्र नभई पोखराको अन्तर्राष्ट्रिय पहिचान, पर्यटन प्रवर्द्धन, आर्थिक गतिविधि विस्तार तथा काठमाडौं केन्द्रित हवाई चाप घटाउने महत्वपूर्ण अवसर भएको उल्लेख गर्नुभयो।

झण्डै २२ अर्ब रुपैयाँ ऋण लगानीमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२३ जनवरी १ मा उद्घाटन भए पनि हालसम्म नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन हुन सकेको थिएन। सीमित चार्टर उडानबाहेक विमानस्थल मुख्य रूपमा आन्तरिक उडानमै सीमित रहँदै आएको छ।

यसअघि हिमालय एयरलाइन्स ले सन् २०२५ मा पोखरा–ल्हासा नियमित व्यावसायिक उडान सुरु गरेको भए पनि पछि सेवा बन्द भएको थियो।

फ्लाई दुबईको यो निर्णयसँगै पोखरालाई अन्तर्राष्ट्रिय हवाई सञ्जालसँग जोड्ने प्रयासले नयाँ गति लिएको छ। पर्यटन व्यवसायीहरूले यसलाई स्वागत गर्दै यसले पोखरामा विदेशी पर्यटक आगमन बढाउने र समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरेका छन्।

प्रकाशित मिति: २७ जेष्ठ २०८३, बुधबार  ०७ : ३१  बजे