काठमाडौं, २७ जेठ। इरान र अमेरिकाबीचको तनाव पुनः चर्किएको छ। इरानले होर्मुज जलडमरूमध्य नजिक अमेरिकी सेनाको अपाचे हेलिकोप्टर खसालेको दाबी गरेपछि अमेरिकाले इरानको केशम टापुमा आक्रमण गरेको जनाएको छ। घटनापछि मध्यपूर्व क्षेत्रमा पुनः युद्ध भड्किने जोखिम बढेको विश्लेषण गरिएको छ।
इरानको सरकारी सञ्चारमाध्यमका अनुसार होर्मुज जलडमरूमध्यस्थित केशम टापुमा शक्तिशाली विस्फोटको आवाज सुनिएको थियो। विश्व व्यापारका लागि अत्यन्तै महत्वपूर्ण मानिने उक्त समुद्री मार्ग अहिले पनि क्षेत्रीय तनावको केन्द्रमा रहेको छ। प्रारम्भिक विवरणअनुसार आक्रमण राजधानी तेहरान वा अन्य प्रमुख सहरमा नभई केशम टापुमै केन्द्रित रहेको बताइएको छ। यद्यपि आक्रमणबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण सार्वजनिक गरिएको छैन।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले अमेरिकी सेनाको अत्याधुनिक अपाचे हेलिकोप्टर खसालेको आरोप लगाउँदै त्यसको जवाफ दिइने चेतावनी दिएका थिए। ट्रम्पका अनुसार हेलिकोप्टरमा सवार दुई सैनिक भने सुरक्षित रहेका छन् र उनीहरूलाई कुनै गम्भीर चोटपटक लागेको छैन।
अमेरिकी सेनाका अनुसार सोमबार ओमानको तटनजिक दुर्घटनाग्रस्त भएको हेलिकोप्टरका चालक दलका दुई सदस्यलाई मंगलबार बिहान उद्धार गरिएको थियो। अमेरिकी सेन्ट्रल कमान्डका प्रवक्ता क्याप्टेन टिम हकिन्सले मानवविहीन उद्धार डुंगाको सहायताले दुवै पाइलटलाई सुरक्षित रूपमा बाहिर निकालिएको जानकारी दिएका छन्। उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।
अमेरिकी आक्रमणपछि इरानले पनि कडा प्रतिक्रिया जनाएको छ। इरानका विदेशमन्त्री Abbas Araghchi ले सामाजिक सञ्जाल एक्समार्फत चेतावनी दिँदै विदेशी सेनालाई क्षेत्रबाट बाहिरिन आग्रह गरेका छन्। उनले इरानले कूटनीतिक समाधानलाई प्राथमिकता दिने भए पनि आवश्यक परे प्रतिकारात्मक कदम चाल्न पछि नहट्ने संकेत दिएका छन्।
पछिल्ला दुई महिनादेखि कायम रहेको युद्धविरामबीच भएको यो घटनाले क्षेत्रीय सुरक्षा अवस्थालाई थप जटिल बनाएको छ। होर्मुज क्षेत्र वरिपरि अमेरिका–इरानबीच बढ्दो सैन्य गतिविधि तथा लेबनानमा जारी तनावले अप्रिलमा भएको युद्धविरामलाई कमजोर बनाइरहेको विश्लेषकहरूको भनाइ छ।
अमेरिका र इजरायलले फेब्रुअरी अन्त्यदेखि इरानविरुद्ध सैन्य कारबाही तीव्र बनाएपछि पश्चिम एसियाको सुरक्षा अवस्था अस्थिर बनेको छ। दुवै पक्षबीच स्थायी सम्झौतामा सहमति हुन नसक्दा आगामी दिनमा व्यापक युद्धको जोखिम अझै कायम रहेको देखिन्छ।








प्रतिक्रिया