हेटौँडा, २६ जेठ । गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवाको अभावमा गुज्रिएको हेटौंडा शहरमा नगर अस्पतालले सेवा दिन थालेपछि स्थानीय बासिन्दा उत्साहित भएका छन् । अस्पतालले चिकित्सकसहित २४ घण्टा नै सेवा दिइरहेको छ । अस्पतालको सञ्चालन हेटौंडा उपमहानगरपालिकाले गरेको हो ।
करिब ३ वर्ष अघि उपमहानगरले वडा नं. १३ र १६ मा अस्पताल सञ्चालन शुरु गरेको थियो । त्यहाँ पाँच–पाँच शैयाको अस्पताल सञ्चालित छन् । वीरगञ्ज वा काठमाडौंमा उपचारका लागि जाने स्थानीय अहिले नगर अस्पतालबाट स्वास्थ्यसेवा लिइरहेका छन् ।
२०८० सालबाट सञ्चालन भएको हेटौंडा–१३ को अस्पतालबाट २०८०/०८१ मा १३ हजार २२९, २०८१/०८२ मा ९ हजार ६७६, २०८२/०८३ को जेठ सम्ममा ५ हजार ८३९ सेवाग्राही लाभान्वित भएका छन् । त्यस्तै, हेटौंडा– १६ मा रहेको अस्पतालबाट २०८०/०८१ मा ११ हजार १३७, २०८१/०८२ मा११ हजार ४५, २०८२/०८३ को जेठ सम्ममा ७ हजार ६७९ सेवाग्राही लाभान्वित भएको उपमहानगरपालिकाद्वारा उपलब्ध तथ्याङमा उल्लेख छ ।
दुवै वडाका अस्पतालबाट अहिले दैनिक सरदर ४५ विरामीले सेवा लिने गरेका छन् । गाउँमै स्वास्थ्य सुविधा पाएपछि स्थानीयलाई सहज भएको हेटौंडा– १३ का फेञ्चु लामाले बताउनुभयो । विशेषज्ञ चिकित्सकसहितको सेवाले स्थानीयको स्वास्थ्य सेवामा केही सहजता प्रदान गरेको उहाँ बताउँनुहुन्छ ।
अस्पतालमा सेवा लिन आएकी हेटौंडा–१६ की सरला बानियाँले आकस्मिक रुपमा पाउने उपचार सुविधाले सहज भएको बताउनुभयो । प्रसुती सहितको सेवा हेटौँडामै पाउँदा अन्य शहरतिर धाउनुपर्ने बाध्यता अन्त्य भएको उहाँले बताउनुभयो । अहिले नगर अस्पतालमा ओपीडी सेवा सञ्चालित हुँदा भित्री गाउँबाट समेत सेवाग्राही त्यहीँ पुग्ने गरेका छन् ।
अस्पतालमा ओपीडीसँगै प्रयोगशाला, क्षयरोग, गर्भवती परीक्षण, बर्थिङ सेन्टर र पोषणसम्बन्धी सेवा सञ्चालित छ । अस्पतालले स्थानीय स्तरमा आश्यक एम्वुलेन्स सुबिधा दिँदै आएको नगर अस्पताल, पदमपोखरीका सिनियर अहेब शेरबहादुर ब्लोनले बताउनुभयो । यद्यपि, स्थानीयवासीको अपेक्षाअनुसार काम गर्न नसकिएको उहाँ बताउँनुहुन्छ ।
नगरवासीले न्यूनतम स्वास्थ्य सेवा सहज रुपमा पाउन सकून् भन्ने उद्देश्यले अस्पताल सञ्चालन गरिएको उपमहानगरकी मेयर मीना लामाले बताउनुभयो । उहाँले भन्नुभयो,‘नगरवासीको स्वास्थ्य अवस्थाको जिम्मेवारी हामीमा पनि रहने भएकाले केही समयअघिबाट दुई वडामा डाक्टरसहितको सुविधामा अस्पताल सञ्चालनमा गरेका हौं ।’ अस्पतालको प्रभावकारी सेवा भविष्यमा विस्तार गर्दै लगिने उहाँको भनाइ छ ।








प्रतिक्रिया