काठमाडौं, २४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समसामयिक राजनीतिक घटनाक्रम तथा राष्ट्रिय चासोका विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेको छ।
रास्वपाका सभापति रवि लामिछाने को पहलमा बोलाइएको बैठक सोमबार बिहान ९ बजे संसद् सचिवालयअन्तर्गत सार्वजनिक लेखा समितिको हल, सिंहदरबारमा बस्ने जनाइएको छ।
रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई बैठकमा सहभागी हुन औपचारिक निमन्त्रणा पठाइसकिएको जानकारी दिनुभयो।
पार्टीका अनुसार प्रत्येक राजनीतिक दलबाट अध्यक्ष वा सभापतिसहित दुई जना प्रतिनिधि सहभागी हुन सक्ने व्यवस्था गरिएको छ। बैठकमा पछिल्लो राजनीतिक अवस्था, संसद्को गतिरोध, राष्ट्रिय सरोकारका विषय तथा समसामयिक मुद्दाहरूमा साझा धारणा निर्माण गर्ने विषयमा छलफल हुने अपेक्षा गरिएको छ।
रास्वपाले मुलुकका महत्वपूर्ण राजनीतिक तथा राष्ट्रिय मुद्दामा दलहरूबीच संवाद, सहकार्य र समझदारीको वातावरण बनाउन बैठक आह्वान गरिएको जनाएको छ।
पछिल्लो समय संसद्भित्र र बाहिर विभिन्न राजनीतिक विषयमा बहस र विवाद चर्किरहेका बेला रास्वपाले बोलाएको सर्वदलीय बैठकलाई राजनीतिक वृत्तले चासोका साथ हेरेको छ।








प्रतिक्रिया