काठमाडौं, २४ जेठ । नेपालको पर्यटन तथा हस्पिटालिटी क्षेत्रमा एउटा ठूलो र ऐतिहासिक व्यावसायिक साझेदारी भएको छ । विश्वप्रसिद्ध होटल सञ्जाल म्यारियट इन्टरनेसनल र चौधरी ग्रुपअन्तर्गतको सीजी हस्पिटालिटी ग्लोबलबीच नेपालमा दुईवटा बहुप्रतिक्षित अल्ट्रा लक्जरी होटल सञ्चालनका लागि औपचारिक सम्झौता भएको हो ।
सम्झौताअनुसार काठमाडौंको ठमेल र लाजिम्पाट क्षेत्रमा द रिट्ज–कार्लटन काठमाडौं र द वेस्टिन काठमाडौँ सञ्चालनमा आउने भएका छन् । यो साझेदारीले दुवै कम्पनीबीचको व्यावसायिक सहकार्यलाई थप बलियो बनाउँदै नेपालको लक्जरी पर्यटनलाई नयाँ उचाइमा पुर्याउने विश्वास गरिएको छ ।
सम्झौता अनुसार म्यारियटको विश्वप्रसिद्ध लक्जरी र प्रिमियम ब्रान्डहरु पहिलो पटक नेपाली बजारमा भित्रिन लागेका हुन् । यी नयाँ होटलहरू थपिएसँगै म्यारियटको पोर्टफोलियोमा करिब ३०० वटा की थपिनेछन् । जसले उच्चस्तरीय र धनाढ्य पर्यटकका लागि काठमाडौंलाई आकर्षक गन्तव्य बनाउनेछ ।
यी होटलहरूलाई सन् २०३१ सम्ममा पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । काठमाडौंको प्रमुख व्यावसायिक तथा पर्यटकीय केन्द्र ठमेलमा स्थापना हुन लागेको द रिट्ज–कार्लटन काठमाडौँ मा ३० वटा विशाल सुइटसहित १५० वटा आकर्षक कोठाहरू रहने छन् ।
पाहुनाहरुलाई पाँचतारे स्तरको विशिष्ट सेवा, फरक स्वादका रेस्टुरेन्ट तथा बार, आउटडोर स्विमिङ पुल, आधुनिक फिटनेस सेन्टर र भव्य द रिट्ज–कार्लटन स्पाको सुविधा दिइने गरी यसको डिजाइन गरिएको छ । साथै, व्यावसायिक तथा सामाजिक कार्यक्रमका लागि ११०० वर्गमिटरभन्दा बढी क्षेत्रफलमा फैलिएको अत्याधुनिक सम्मेलन हल समेत उपलब्ध हुनेछ ।
त्यसैगरी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ७ किलोमिटरको दूरीमा अवस्थित द वेस्टिन काठमाडौंमा १५० वटा प्रिमियम रुम तथा सुइटहरू रहनेछन् । यो होटलमा तीनवटा डाइनिङ स्थल, वेस्टिनवर्कआउट फिटनेस स्टुडियो, हेभेन्ली स्पा बाई वेस्टिन, रुफटप स्विमिङ पुल र ७०० वर्गमिटरभन्दा ठूलो बैठक तथा बैंक्वेट हल निर्माण गरिनेछ ।
यस होटलले मुख्य गरी पर्यटकहरुको स्वास्थ्य, सन्तुलित जीवनशैली र विशेष वेलनेस कार्यक्रमलाई प्राथमिकता दिने उद्देश्य राखेको छ । काठमाडौँमा आयोजित एक समारोहका बीच यस सम्झौतापत्रमा हस्ताक्षर भएको हो । उक्त अवसरमा म्यारियट इन्टरनेसनल इन्कका बोर्ड अध्यक्ष डेभिड म्यारियट, चौधरी ग्रुप तथा सीजी कर्प ग्लोबलका अध्यक्ष विनोद चौधरी, सीजी हस्पिटालिटी ग्लोबलका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत राहुल चौधरी, आईईजी ग्रुप, आईजे ग्रुप तथा शर्मा एन्ड कम्पनीका अध्यक्ष एवं सञ्चालकहरू उपस्थित रहनुभएको थियो ।
साथै, म्यारियट इन्टरनेसनल इन्कका एसिया प्रशान्त (चीन बाहेक) अध्यक्ष राजीव मेनन र दक्षिण एसियाका वरिष्ठ उपाध्यक्ष किरण एन्डीकोटलगायतको समेत उपस्थिति रहेको थियो । सम्झौतापछि म्यारियट इन्टरनेसनलका एसिया प्रशान्त (चीन बाहेक) का अध्यक्ष राजीव मेननले नेपाली बजारमा विश्वस्तरीय हस्पिटालिटी अनुभव विस्तार गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।
उहाँले यी ऐतिहासिक परियोजनाहरूले म्यारियटको प्रिमियम मापदण्डलाई झल्काउने र नेपालको दीर्घकालीन विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो । सीजी हस्पिटालिटी ग्लोबलका प्रमुख कार्यकारी अधिकृत राहुल चौधरीले म्यारियटसँगको सहकार्य नेपाल र दक्षिण एसियाको हस्पिटालिटी क्षेत्रकै लागि नयाँ अध्याय भएको उल्लेख गर्नुभयो ।
उहाँले काठमाडौंमा विकसित हुने यी होटलहरूले स्थानीय संस्कृति र रोजगारी सिर्जनामा ध्यान दिँदै नेपालको पर्यटन उद्योगलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्न प्रतिबद्ध रहेको बताउनुभयो । चौधरी ग्रुप नेपालकै सबैभन्दा ठूलो र बहुराष्ट्रिय कम्पनी भएकाले यसले नेपाललाई विश्वसामु परिचित गराउन सदैव अग्रणी भूमिका खेल्दै आएको छ ।
सीजी हस्पिटालिटीले हाल विश्वका १२ देशका १३० गन्तव्यमा २२० भन्दा बढी होटल तथा रिसोर्टहरू सफलतापूर्वक व्यवस्थापन गर्दै आएको छ । म्यारियट इन्टरनेसनलसँगको यो पछिल्लो विस्तारले सन् २०३० सम्ममा सीजीको पोर्टफोलियो ६०० भन्दा बढी होटलमा पुर्याउने लक्ष्यलाई थप बल पुगेको छ । यस ऐतिहासिक साझेदारीले नेपालको अर्थतन्त्र, वैदेशिक लगानी र पर्यटन प्रवर्द्धनमा एउटा सुनौलो भविष्यको संकेत गरेको छ ।








प्रतिक्रिया