कक्रोच पार्टीको समर्थनमा उत्रिए बलिउडका ‘जयकान्त सिक्रे’,जन्तर मन्तरको प्रदर्शनमा सहभागी हुने

काठमाडौं, २१ जेठ । भारतका चर्चित अभिनेता प्रकाश राजले कक्रोच जनता पार्टीलाई समर्थन दिने घोषणा गर्नुभएको छ । नरेन्द्र मोदी सत्ताको प्रखर आलोचक बन्दै आउनुभएको अभिनेता प्रकाश राजले कक्रोच जनता पार्टीको समर्थनमा ६ जुनको प्रदर्शनमा सहभागी हुन प्रयास गर्ने बताउनुभएको छ ।

कक्रोच जनता पार्टीका संस्थापक अभिजित दिप्केले ६ जुनमा भारत फर्केर दिल्लीको जन्तर मन्तरमा शान्तिपूर्ण प्रदर्शनको घोषणा गर्नुभएको छ । भारतको सर्वोच्च अदालतका न्यायाधीशले सामाजिक संजालबाट आलोचना गर्ने युवालाई कक्रोच अर्थात साङ्लाको संज्ञा दिएपछि व्यंग्यात्मकरूपमा कक्रोच अभियान चलाएका दिप्के अमेरिकामा अध्ययनरत विद्यार्थी हो ।

उहाँको समर्थनमा आज करोडौं भारतीय युवामात्र नभएर अभिनेता, फिल्म निर्मातादेखि अभियन्ताहरू समेत उत्रिएका छन् । सिंघम फिल्मका चर्चित पात्र जयकान्त सिक्रेबाट परिचित प्रकाशराजले लद्दाखका पर्यावरण कार्यकर्ता तथा शिक्षाविद् सोनम वाङचुकको पोष्ट समेत शेयर गरेका छन् । सोनमले पनि कक्रोच पार्टीलाई समर्थन गर्ने भएका छन् ।

प्रकाश राजले सामाजिक संजालबाटै आफू कक्रोच आन्दोलनमा ऐक्यतवद्धता जनाउन दिल्ली पुग्ने घोषणा गरेपछि बलिउडमा खैलाबैला मच्चिएको छ ।

प्रकाशित मिति: २१ जेष्ठ २०८३, बिहिबार  ११ : ४३  बजे