धेरै ठाउँमा त परको कुरा, नेपालले एक ठाउँमा पनि कसैको सीमा मिचेको छैन : केपी ओली

काठमाडौं, २० जेठ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको संसदीय आचरण, राष्ट्रिय सीमासम्बन्धी अभिव्यक्ति र सभामुखको भूमिकामाथि कडा प्रश्न उठाउँदै राष्ट्रिय हित विपरीत अभिव्यक्ति दिने प्रधानमन्त्रीलाई संरक्षण गरिएको भन्दै आपत्ति जनाउनुभएको छ ।

उहाँले देशको पक्षमा बोल्ने सांसदहरूलाई कारबाही गर्ने प्रयास भइरहेको आरोप लगाउनुभयो । काठमाडौंमा आजदेखि सुरु भएको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुईदिने राष्ट्रिय कार्यशालालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रधानमन्त्री सांसदप्रति उत्तरदायी हुनुपर्ने लोकतान्त्रिक मान्यता विपरीत व्यवहार देखिएको टिप्पणी गर्नुभयो ।

उहाँले सांसदहरूले संसदमा प्रधानमन्त्रीलाई खोज्दा उपस्थित नहुने तर आफ्नो जिम्मेवारी पूरा नगरी अन्यत्र व्यस्त हुने प्रवृत्ति देखिएको बताउनुभयो । ‘सांसदले संसदमा खोजी गर्दा प्रधानमन्त्री उपस्थित नहुने अवस्था देखिएको छ,’ उहाँले भन्नुभयो । अध्यक्ष ओलीले सरकारले तयार गरेको नीति तथा कार्यक्रम राष्ट्रपतिसमक्ष प्रस्तुत गर्ने क्रममा प्रधानमन्त्रीले देखाएको व्यवहारमाथि पनि प्रश्न उठाउनुभयो।

‘आफैले तयार गरेको सरकारको नीति तथा कार्यक्रम राष्ट्रपतिको टेबुलमा राखेर हिँड्नुपर्ने कस्तो आपत्कालीन अवस्था प्रधानमन्त्रीलाई आइपर्यो’ उहाँले प्रश्न गर्नुभयो । उहाँले त्यसलाई प्रधानमन्त्रीको लापरबाही, अहङ्कार र जिम्मेवारीप्रतिको बेवास्ताको रूपमा चित्रण गर्नुभयो ।

सम्बोधनका क्रममा अध्यक्ष ओलीले संसदमा प्रधानमन्त्रीले दिएको सीमासम्बन्धी अभिव्यक्तिको आलोचना गर्नुभयो । प्रधानमन्त्रीले नेपालले भारतको सीमा विभिन्न स्थानमा मिचेको भन्ने आशयको अभिव्यक्ति दिएको उल्लेख गर्दै उहाँले त्यसलाई तथ्यहीन र राष्ट्रिय हित विपरीत भएको दाबी गर्नुभयो ।

‘नेपालले भारतको सीमा धेरै ठाउँमा मिचेको छ भन्ने कुरा प्रधानमन्त्रीले भन्नुभयो,’ उहाँले भन्नुभयो, ‘धेरै ठाउँमा त परको कुरा, नेपालले एक ठाउँमा पनि कसैको सीमा मिचेको छैन ।’ उहाँले यस्तो अभिव्यक्ति कसको हितका लागि आएको हो भन्ने प्रश्न गर्दै नेपाली जनताको राष्ट्रिय स्वाभिमानमाथि प्रहार भएको टिप्पणी गर्नुभयो।

‘प्रधानमन्त्रीले यो देशद्रोही कुरा कसको हितमा बोलेको ? नेपाली जनतालाई हेप्ने ठाउँ योभन्दा बढी हुन सक्दैन,’ उहाँले भन्नुभयो। अध्यक्ष ओलीले नेपाल–भारत सीमासम्बन्धी विषयमा तेस्रो पक्षलाई संलग्न गराउने चर्चा चलेको भन्दै त्यसप्रति पनि आपत्ति जनाउनुभयो ।

‘दुई पक्षीय सीमाको वार्तामा अर्को देशलाई समावेश गर्ने कुरा गर्नुभएको छ,’ उहाँले भन्नुभयो, ‘यस्तो अकूटनीतिक भाषा र सोच स्वीकार्य हुन सक्दैन।’ नेपालको सीमासम्बन्धी विषय नेपाल र सम्बन्धित देशबीचको द्विपक्षीय विषय भएको उल्लेख गर्दै उहाँले त्यसमा अनावश्यक हस्तक्षेप स्वीकार गर्न नसकिने बताउनुभयो।

‘नेपाल कुनै प्रधानमन्त्रीको घरको सम्पत्ति होइन,’ उहाँले भन्नुभयो, ‘दुई देशबीचको सीमाको विषयमा दुई देश बसेर नै छलफल गरिन्छ, समयका लागि पदमा पुग्दैमा जथाभावी निर्णय गर्न पाइँदैन।’ अध्यक्ष ओलीले सभामुखको भूमिकाप्रति पनि असन्तुष्टि व्यक्त गर्नुभयो। राष्ट्रिय हितका विषयमा प्रश्न उठाउने सांसदहरूमाथि कारबाही गर्न समिति गठन गरिएको भन्ने सूचना आफूले पाएको उल्लेख गर्दै उहाँले त्यसको विरोध गर्नुभयो ।

‘राष्ट्रघाती कुरा बोल्ने प्रधानमन्त्रीविरुद्ध रुलिङ गर्न नसक्ने सभामुखले देशको पक्षमा बोल्ने सांसदहरूलाई कारबाही गर्न समिति बनाएको सुनियो,’ उहाँले भन्नुभयो। उहाँले यदि त्यस्तो प्रयास भएको खण्डमा जनताले त्यसको उचित जवाफ दिने दाबी पनि गर्नुभयो ।

‘कारबाही गर्नुस्, गरेर देखाउनुस्,’ उहाँले चुनौतीपूर्ण शैलीमा भन्नुभयो, ‘नेपाली जनताको देशभक्तिको भावना त्यति कमजोर छैन ।’ अध्यक्ष ओलीले राष्ट्रिय स्वाभिमान, सार्वभौमिकता र राष्ट्रिय हितका विषयमा एमाले सधैँ स्पष्ट र दृढ रहेको बताउँदै यस्ता मुद्दामा पार्टीले संसददेखि जनस्तरसम्म निरन्तर आवाज उठाइरहने बताउनुभयो ।

प्रकाशित मिति: २० जेष्ठ २०८३, बुधबार  १८ : ३८  बजे