मोदीसँगको एक घण्टा लामो भेटवार्तापछि रविले के भने ?

काठमाडौं, २० जेठ । पाँचदिने भारत भ्रमणमा रहेका सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्ता फलदायी रहेको बताउनुभएको छ । एक घण्टा लामो भेटवार्ता अत्यन्त उपयोगी र फलदायी रहेको बताउँदै सभापति लामिछानेले नेपाल र भारतले विगतका सीमितता र बाधाहरूलाई पार गर्दै विकास–कूटनीतिको नयाँ युगमा प्रवेश गर्ने कुरामा संवाद गरेको जानकारी दिनुभयो ।

भेटवार्ताका क्रममा दुवै पक्षले साझा सभ्यतागत सम्बन्ध, डिजिटल करिडोरहरू र सहज कनेक्टिभिटीमा केन्द्रित भएर प्रगति र आपसी विश्वासमा आधारित साझेदारी निर्माण गर्न सक्नेमा विश्वास लिएका छन् । साथै, राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाल र भारतका जनताका लागि साझा समृद्धिको दिशामा यी सम्भावनाहरूलाई व्यवहारमा रूपान्तरण गर्न उत्सुकता व्यक्त गरेको पनि लामिछानेले जनाउनुभयो ।

भेटपछि मोदीको एक्स पोस्टलाई सेयर गर्दै लामिछानेले लेख्नुभएको छ,

  • आज सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भएको एक घण्टाको अत्यन्त उपयोगी र फलदायी वार्तामा सहभागी हुन पाउनु वास्तवमै ठूलो खुशीको विषय थियो ।
  • म तपाईंको त्यो दृष्टिकोणसँग सहमत छु, जसमा नेपाल र भारतले विगतका सीमितता र बाधाहरूलाई पार गर्दै विकास–कूटनीतिको नयाँ युगमा प्रवेश गर्ने कुरा समावेश छ ।
  • साझा सभ्यतागत सम्बन्ध, डिजिटल करिडोरहरू र सहज कनेक्टिभिटीमा केन्द्रित भएर हामीले वास्तवमै प्रगति र आपसी विश्वासमा आधारित साझेदारी निर्माण गर्न सक्छौं ।
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपाल र भारतका जनताका लागि साझा समृद्धिको दिशामा यी सम्भावनाहरूलाई व्यवहारमा रूपान्तरण गर्न उत्सुकता व्यक्त गरेको छ ।

प्रकाशित मिति: २० जेष्ठ २०८३, बुधबार  १८ : १४  बजे