रास्वपा सभापति लामिछाने र भाजपा नेता नवीनबिच नयाँ दिल्लीमा भेटवार्ता

काठमाडौं, १९ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतीय जनता पार्टी (भाजपा) का नेता नितिन नवीनबिच भारतको राजधानी नयाँ दिल्लीमा भेटवार्ता भएको छ । भारत भ्रमणमा रहनुभएका सभापति लामिछानेले नयाँ दिल्लीस्थित भाजपाको केन्द्रीय मुख्यालयमा पुगेर नेता नवीनसँग भेटघाट गर्नुभएको हो ।

भेटका अवसरमा दुई दलबिचको आपसी सम्बन्ध, नेपाल(भारत द्विपक्षीय चासो र आपसी सहकार्यका विविध पक्षमा छलफल भएको भाजपाले जनाएको छ । रास्वपा प्रवक्ता मनीष झाका अनुसार जेठ १८ देखि २२ गतेसम्मको भारत भ्रमण क्रममा सभापति लामिछानेसहितको प्रतिनिधिमण्डलले नयाँदिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्ने छ ।

भाजपाले पनि नेपालको सत्तारूढ दल रास्वपाका सभापतिसँगको भेटवार्ताले दुई देशका राजनीतिक दलबिच औपचारिक संवाद र भविष्यमा सहकार्यका सम्भावनालाई बल पुर्‍याउने जनाएको छ । भ्रमणको उद्देश्य रास्वपा र भाजपाबिच पार्टी–पार्टी सम्बन्ध विस्तार गर्नुका साथै सङ्गठनात्मक अभ्यास, लोकतान्त्रिक प्रक्रिया तथा जनमुखी राजनीतिक पहुँचका विषयमा विचार विमर्श गर्ने रहेको भाजपाले जनाएको छ ।

सभापति लामिछानेसँगै रास्वपा प्रतिनिधिमण्डलमा महामन्त्री तथा सांसद विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा सांसद दीपक बोहरा, निकिता पौडेल सहभागी रहनुभएको छ । उक्त भ्रमणका क्रममा सभापति लामिछानेले भारतमा रहेका नेपाली समुदायसँग पनि भेटघाट गर्ने जनाइएको छ ।

नेपाल र भारतका दुई प्रमुख सत्तारूढ राजनीतिक दलबिच सुरु हुन लागेको यो प्रत्यक्ष संवादले भविष्यमा दलगत सम्बन्ध र क्षेत्रीय राजनीतिक सहकार्यमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ । भेटघाट, छलफल तथा भ्रमणका लागि नयाँदिल्लीस्थित नेपाली दूतावासले समन्वय गरिरहेको रास्वपाले जनाएको छ ।

प्रकाशित मिति: १९ जेष्ठ २०८३, मंगलबार  १६ : १६  बजे