बजेट गैरजिम्मेवार र हावादारी रहेको एमालेको निष्कर्ष

काठमाडौँ, १६ जेठ । नेकपा (एमाले) ले सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि प्रस्तुत गरेको बजेटलाई ‘गैरजिम्मेवार र हावादारी’ भएको निष्कर्ष निकालेको छ ।

शनिबार सिंहदरबारमा बसेको एमाले संसदीय दलको बैठकले बजेटले आम जनताको भावना र मुलुकको वर्तमान आवश्यकतालाई समेट्न नसकेको ठहर गरेको हो ।

बैठकका निर्णयबारे जानकारी दिँदै एमालेका प्रमुख सचेतक ऐनबहादुर महर ले बजेटमाथि पार्टीको साझा धारणा निर्माणका लागि विस्तृत छलफल गरिएको बताउनुभयो ।

उहाँका अनुसार करिब छ घण्टा चलेको बैठकमा पार्टीका शीर्ष नेता तथा अर्थ क्षेत्रका विज्ञहरूको समेत सहभागिता रहेको थियो । बैठकमा पूर्वअर्थमन्त्रीहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे, डा. युवराज खतिवडा तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. शिवराज अधिकारीले बजेटका विभिन्न पक्षबारे सहजीकरण गर्नुभएको थियो ।

विज्ञहरूको विश्लेषण र सांसदहरूको सुझावका आधारमा बजेटमा रूपान्तरणकारी योजना तथा स्पष्ट दृष्टिकोणको अभाव रहेको निष्कर्षमा एमाले पुगेको प्रमुख सचेतक महरले बताउनुभयो ।

“समग्रमा बजेट एकदमै गैरजिम्मेवार र हावादारी छ,” उहाँले भन्नुभयो, “झण्डै दुई तिहाइ जनमत प्राप्त सरकारबाट अपेक्षा गरिएको रूपान्तरणकारी बजेट आउन सकेको छैन ।”

उहाँले बजेटको स्रोत सुनिश्चितता पनि भरपर्दो नरहेको दाबी गर्नुभयो । बजेट अत्यधिक रूपमा ऋणमा निर्भर रहेको र त्यस ऋणको स्रोतसमेत स्पष्ट नभएको उहाँको भनाइ थियो ।

एमालेले बजेटले निम्न आय भएका वर्ग, मजदुर, किसान, महिला, बालबालिका तथा विद्यार्थीका आवश्यकता सम्बोधन गर्न नसकेको आरोप लगाएको छ । साथै शिक्षा, कृषि र पर्यटनजस्ता महत्वपूर्ण क्षेत्रलाई पर्याप्त प्राथमिकता नदिइएको पनि पार्टीको निष्कर्ष रहेको छ ।

प्रमुख सचेतक महरले आगामी जेठ १८ गतेदेखि संसद्मा सुरु हुने बजेटमाथिको छलफलमा एमालेले यी विषयलाई प्राथमिकताका साथ उठाउने जानकारी दिनुभयो । संसदीय दलको बैठकले बजेटका कमजोरीहरू सदनमा सशक्त रूपमा प्रस्तुत गर्ने र साझा दृष्टिकोणका साथ अघि बढ्ने निर्णयसमेत गरेको जनाएको छ ।

प्रकाशित मिति: १६ जेष्ठ २०८३, शनिबार  २० : २५  बजे