कर्णालीलाई सरकारले उपेक्षा गर्यो, ओली सरकारले भन्दा कम बजेट छुट्टायो – ज्ञानेन्द्र शाही

काठमाडौँ, १५ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र शाही ले विपक्षी दल भएको कारण मात्र बजेटको विरोध गर्नु नपर्ने टिप्पणी गर्नुभएको छ ।

सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटबारे संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले कर्णाली प्रदेशका लागि बजेट विगतको तुलनामा कम विनियोजन गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “रातो किताब आउन बाँकी छ, तर अहिले कर्णालीका लागि बजेटमा केपी ओली नेतृत्वको सरकारको तुलनामा कम बजेट आएको छ। यो कुनै आरोप होइन, यथार्थ हो।”

उहाँका अनुसार भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका लागि २८६ अर्ब रुपैयाँ विनियोजन गरिए पनि कर्णाली प्रदेशमा करिब ४ अर्ब रुपैयाँ मात्र छुट्याइएको छ ।

त्यसैगरी नाग्मदेखि गमगढीसम्मको कालोपत्रे आयोजनाका लागि १ अर्ब रुपैयाँ विनियोजन गरिएको उल्लेख गर्दै उहाँले सो आयोजनामा पहिले नै करिब ९१ करोड रुपैयाँ खर्च भइसकेको दाबी गर्नुभयो ।

उहाँले बजेट विनियोजनमा क्षेत्रीय सन्तुलनको विषयमा गम्भीर ध्यान दिनुपर्ने आवश्यकता रहेको पनि बताउनुभयो ।

प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार  २० : ५६  बजे