बजेटको आकार ठूलो बनाउँदैमा सकारात्मक प्रतिफल आउँदैन : कांग्रेस

काठमाडौँ, १५ जेठ — नेपाली कांग्रेसले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट वितरणमुखी भएको टिप्पणी गरेको छ ।

बजेट सार्वजनिक भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै नेपाली कांग्रेसका सचेतक निश्कल राई ले सरकारको खर्च गर्ने क्षमता कमजोर रहेकाले बजेटको आकार मात्रै ठूलो बनाउँदैमा सकारात्मक प्रतिफल प्राप्त नहुने बताउनुभयो ।

“उत्पादनशील क्षेत्रमा पर्याप्त ध्यान नदिइए बजेट प्रभावकारी हुन सक्दैन,” उहाँले भन्नुभयो, “राष्ट्रको खर्च गर्ने क्षमता कति छ भन्ने कुरा सबैलाई थाहा छ । बजेटको आकार मात्रै ठूलो बनाएर उत्पादनशील क्षेत्रमा अघि बढ्न नसके राम्रो प्रतिफल आउँदैन ।”

उहाँले यसपटकको बजेट विगतकै निरन्तरताजस्तो देखिएको प्रतिक्रिया दिनुभयो । यद्यपि कर प्रणाली तथा कर व्यवस्थापनमा केही परिवर्तन गर्न खोजिएको विषयलाई सकारात्मक पक्षका रूपमा लिन सकिने उहाँको भनाइ थियो ।

सचेतक राईले सरकारले अनौपचारिक अर्थतन्त्रलाई समेट्ने प्रयास गरेको र त्यसतर्फ केही जोड दिन खोजिएको देखिएको समेत उल्लेख गर्नुभयो ।

प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार  २० : ५२  बजे