काठमाडौँ, १५ जेठ । पूर्वअर्थमन्त्री वर्षमान पुन ले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट अस्वाभाविक रूपमा ठूलो भएको टिप्पणी गर्नुभएको छ ।
नेपाली कम्युनिस्ट पार्टीका सांसदसमेत रहनुभएका पूर्वमन्त्री पुनले बजेट भाषणपछि संसद् परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै बजेटको आकार वास्तविक अवस्थाभन्दा बाहिर गएर बढाइएको बताउनुभयो ।
“योजना आयोगले तोकेको सिलिङ २० खर्ब रुपैयाँ वरिपरि थियो । त्यसमा झण्डै डेढ खर्ब रुपैयाँ थपिएको छ,” उहाँले भन्नुभयो, “त्यसैले बजेटको आकार अस्वाभाविक रूपमा बढाइएको छ । यो वास्तविक बजेट होइन, अर्थमन्त्री स्वयंलाई पनि थाहा छ ।”
उहाँले विगतमा १८–१९ खर्ब रुपैयाँको बजेट ल्याएर पछि मूल्यांकनमार्फत १५–१६ खर्ब रुपैयाँमा सीमित हुने अवस्था आउने गरेको स्मरण गराउनुभयो ।
पूर्वअर्थमन्त्री पुनले बजेटमार्फत विभिन्न क्षेत्रमा छुट तथा अनुदान दिने व्यवस्था सकारात्मक भए पनि नेपालको वर्तमान अर्थतन्त्रले त्यसको भार धान्न सक्ने अवस्था नदेखिएको उल्लेख गर्नुभयो ।
“सबैतिर छुट दिने, अनुदान दिने कुरा नराम्रो होइन,” उहाँले भन्नुभयो, “तर हाम्रो अर्थतन्त्रले त्यसलाई धान्न सक्छ कि सक्दैन भन्ने प्रश्न महत्वपूर्ण छ ।”
उहाँले विगतमा कम्युनिस्ट अर्थमन्त्रीहरूमाथि वितरणमुखी बजेट ल्याएको आरोप लाग्ने गरेको स्मरण गर्दै अहिलेको बजेट पनि वितरणमुखी देखिएको टिप्पणी गर्नुभयो ।
“स्वयं अहिलेका अर्थमन्त्रीले विगतका बजेटहरूलाई लोकप्रियता केन्द्रित र कनिका छर्ने खालको भन्नुहुन्थ्यो,” उहाँले भन्नुभयो, “तर अहिले उहाँकै बजेट वितरणमुखी देखिएको छ ।”
पूर्वअर्थमन्त्री पुनले बजेटमा राष्ट्रिय स्वतन्त्र पार्टी को स्थानीय तह निर्वाचन केन्द्रित सोचसमेत देखिएको आरोप लगाउनुभयो ।
“अहिलेको जस्तो लोकप्रियता सधैं नरहन सक्छ भन्ने मनोविज्ञानले कहीँ न कहीँ वितरणमुखी बजेटमार्फत जनमत जुटाउने प्रयास भएको देखिन्छ,” उहाँले बताउनुभयो ।








प्रतिक्रिया