लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण आजको प्रमुख दायित्व: अध्यक्ष केपी शर्मा ओली

काठमाडौं, १५ जेठ । पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्र दिवसका अवसरमा सन्देश जारी गर्दै लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण आजको प्रमुख दायित्व भएको बताउनुभएको छ ।

सन्देशमा १८ वर्षअघि जननिर्वाचित संविधानसभाद्वारा गणतन्त्र घोषणा भएको ऐतिहासिक दिन स्मरण गर्दै नेपाली जनताले आफ्नै शासन प्रणाली निर्धारण गर्न सात दशकभन्दा लामो संघर्ष गर्नुपरेको उल्लेख गरिएको छ । बोल्ने, लेख्ने, संगठित हुने तथा राजनीतिक विचार राख्ने अधिकार प्राप्तिका क्रममा हजारौंले बलिदान दिएको तथा धेरैले जेलनेल, यातना र निर्वासन भोग्नुपरेको स्मरण गरिएको छ ।

जनताको लामो संघर्षपछि हुकुमी शासन अन्त्य भई कानुनी राज्य र लोकतान्त्रिक प्रणाली स्थापना भएको उल्लेख गर्दै सन्देशमा व्यक्तिको इच्छामा आधारित शासन प्रणालीबाट लोकतान्त्रिक संस्था र संरचनामार्फत सञ्चालन हुने व्यवस्था सुरु भएको बताइएको छ ।

अध्यक्ष ओलीले गणतन्त्र स्थापना गर्न जीवन अर्पण गर्ने अमर शहीदहरू तथा अग्रजहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै, गणतन्त्रको छोटो अभ्यासका बाबजुद सामाजिक र भौतिक विकासमा महत्वपूर्ण उपलब्धि हासिल भएको तथ्य पनि उल्लेख गरिएको छ ।

सन्देशमा गणतन्त्र केवल शासन परिवर्तन मात्र नभई नेपाली समाजको चेतनामा आएको गहिरो रूपान्तरण भएको उल्लेख गर्दै नागरिक ‘प्रजा’ बाट सार्वभौम नागरिकमा रूपान्तरित भएको भनिएको छ ।

स्थानीय सरकारको विस्तार, महिला, दलित, जनजाति, मधेशी तथा पछाडि पारिएका समुदायको प्रतिनिधित्व वृद्धि, नागरिक स्वतन्त्रता, डिजिटल सेवा पहुँच तथा पूर्वाधार विकासलाई गणतन्त्रका उपलब्धि रूपमा उल्लेख गरिएको छ ।

यद्यपि परिवर्तनको गति अपेक्षाअनुसार हुन नसकेको स्वीकार गर्दै असन्तुष्टिहरूलाई लोकतान्त्रिक प्रणालीभित्रै समाधान गर्नुपर्नेमा जोड दिइएको छ ।

सन्देशमा लोकतान्त्रिक संस्थाहरू कमजोर बनाउने, जनताको निराशालाई उपयोग गर्ने तथा अविश्वास फैलाउने प्रवृत्तिबाट सचेत रहन आग्रह गरिएको छ । संविधान, संसद, न्यायपालिका र स्वतन्त्र प्रेसको संरक्षण नै गणतन्त्रको वास्तविक रक्षा भएको ओलीले बताउनुभएको छ ।
अन्त्यमा लोकतान्त्रिक गणतन्त्रका आधारस्तम्भहरूको रक्षा नै भविष्यको सुरक्षा भएको उल्लेख गर्दै सबै नागरिकलाई गणतन्त्र दिवसको शुभकामना व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति: १५ जेष्ठ २०८३, शुक्रबार  ०७ : ३४  बजे