नागरिक लगानी कोष र नबिल बैंकबीच अवकाश कोष व्यवस्थापन सम्झौता

काठमाडौँ, १३ जेठ ।नागरिक लगानी कोष र नबिल बैंक लिमिटेडबीच बैंकका कर्मचारीहरूको अवकाश कोष व्यवस्थापन सम्बन्धी सम्झौता सम्पन्न भएको छ।

उक्त सम्झौतामा नागरिक लगानी कोषका निर्देशक छबिरमण अधिकारी र नबिल बैंकका मानव संसाधन विभाग प्रमुख दिवस कार्कीज्यूले हस्ताक्षर गर्नुभएको हो।

सम्झौताअनुसार योगदानमा आधारित तथा योगदान नभएका दुवै प्रकारका उपदान कोष तथा अतिरिक्त अवकाश कोषको व्यवस्थापन नागरिक लगानी कोषले गर्ने व्यवस्था गरिएको छ। बैंकका कर्मचारीहरूले मासिक तथा वार्षिक रूपमा कोष कट्टीमार्फत नियमित रूपमा रकम जम्मा गर्नुपर्ने प्रावधान रहेको छ।

कोषले प्रत्येक कर्मचारीको व्यक्तिगत खाता तयार गरी अभिलेख राख्ने व्यवस्था गर्नेछ। बैंकको सिफारिसका आधारमा सेवा निवृत्त कर्मचारीहरूलाई नियमानुसार अवकाश रकम भुक्तानी गर्ने व्यवस्था समेत कोषले गर्नेछ।

सम्झौतामा कर्मचारीहरूले कोषमा जम्मा भएको रकममा नागरिक लगानी कोष ऐन, नियम, विनियम तथा कार्यविधि बमोजिम ब्याज, प्रतिफल तथा अन्य सेवा–सुविधा प्राप्त गर्ने व्यवस्था रहेको उल्लेख गरिएको छ। साथै बैंकले अवकाश कोषसँग सम्बन्धित कर्मचारी विवरण, मासिक तथा वार्षिक कट्टी रकम तथा अन्य आवश्यक विवरण कोषलाई उपलब्ध गराउनुपर्नेछ।

त्यसैगरी, आयकर ऐन २०५८ बमोजिम स्वीकृत अवकाश कोषका रूपमा सञ्चालनमा रहेका पुराना कोषहरूमा रहेको रकम नागरिक लगानी कोषमा रकमान्तरण गरिने व्यवस्था समेत सम्झौतामा उल्लेख गरिएको छ।

कोषले सेवा निवृत्त कर्मचारीहरूलाई नियमानुसार कर कट्टी गरी अवकाश भुक्तानी उपलब्ध गराउने व्यवस्था रहनेछ।

प्रकाशित मिति: १३ जेष्ठ २०८३, बुधबार  १८ : ४३  बजे